काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूलाई सेवा दिने भएको छ।
सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन्।
दसैं, तिहार लगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ। ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत् हुने पनि निर्देशक अधिकारीले बताए।
उनले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत् २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए।
अस्पतालले दसैंमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिर्ने गर्दछ। तर ती सार्वजनिक बिदाको दिनमा ओपिडी सेवा बन्द भए पनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताए।
उनले भने, ‘हामी पहिले नै तयार भएर बस्छौं। ड्युटीमा रहेका कुनै पनि डाक्टरले बिदा नलिने भनेर। त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ। उहाँहरूले आफ्नो ग्रुपमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने। यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौं। र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौं। बच्चा कम चल्यो। मानौं, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो। अथवा अलि पेट दुखेजस्तो भयो। अब उहाँहरूलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने उहाँहरूले बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरून्त इमर्जेन्सी डाइरेक्ट आउन सक्नु हुन्छ। र, ठिक छ भनेर भिडिओ एक्सरे लगायतका गरेर बरू घर जान सकिन्छ। तर बिदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन। किनभने हामी ड्युटीमा १२ जना एमडी डाक्टरहरूको टिम हरेक दिन २४ घण्टा नै बसिरहेका हुन्छन्।’
दसैंको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ। त्यसबाहेकका अन्य सार्वजनिक बिदाहरूमा आधा दिन अस्पतालले बिरामीहरूका लागि सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ।
निर्देशक डा. अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरूको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताए।
अस्पतालमा हाल गर्भवती महिलाहरूको चाप बढेको छ। असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए। —न्युज एजेन्सी नेपाल