काठमाडौंका विभिन्न ठाउँमा यात्रुसँग बढी भाडा लिने सवारी साधनसहित ३१ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार र मंगलबार गरी बढी भाडा असुल्ने सवारीसाधनसहित ३१ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
मंगलबार बल्खुबाट सवारीसाधनसहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीले जानकारी दिए।
त्यस्तै, सोमबार बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको प्रवक्ता कार्कीले बताए।
'चेकजाँचकै क्रममा निजी नम्बर प्लेटका सवारीसाधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ,' उनले भने।
उनका अनुसार चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्न काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक अनुसार जनशक्त्ति परिचालन गरिएको छ। चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाइएको उनी बताउँछन्।
गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्रि गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी अहिले प्रहरी प्रभाग गोगबुको नियन्त्रणमा छन्।
यात्राका क्रममा कसैले अनावश्यक दुख: हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।