स्वीस सरकारले बाढी-पहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ।
असोज ११ गते परेको अविरल वर्षापछि आएको बाढी-पहिरोबाट प्रभावित भएका परिवारलाई स्वीस सरकारले राहत प्रदान गरेको हो।
देखाएकाले स्वीस सरकार विकास सहयोग (एसडीसी) को आर्थिक सहयोगमा हेल्भेटास नेपालले मंगलबार काभ्रेको पनौती नगरपालिकामा पुगेर प्रभावित परिवारलाई सहयोग गरेको हो।
पनौती नगरपालिकामा ५०० घर धुरीलाई आवश्यक खाद्य सामग्री, भाँडाकुडा, व्यक्तिगत सरसफाइ सामग्रीहरू जस्तै साबुन, स्यानिटरी प्याड, ब्रस, पेस्ट, साथै ओढ्ने-ओछ्याउनेको व्यवस्था गरेको हो।
त्यस्तै, कोशी प्रदेशको फिदिम नगरपालिकामा ९५ घर धुरीलाई खाद्य सामग्री, व्यक्तिगत सरसफाइ सामग्री, प्राथमिक उपचार किट, र ३९० थान त्रिपाल वितरण गरेको छ।
सोही प्रदेशको फालेलुङ गाउँपालिकामा २९३ घरधुरीलाई खाद्य सामग्री, र ४० घर धुरीलाई भाँडाकुँडा तथा सरसफाइ सामग्रीका साथै ५८६ थान त्रिपाल वितरण गरेको छ।
यो प्रारम्भिक चरणको राहत भए पनि यसले तत्काल प्रभावित परिवारहरूको आवश्यकतालाई सम्बोधन गरिरहेको हेल्भेटासले जनाएको छ।
हालसम्म उपलब्ध गराइएको राहत सामग्रीको कुल लागत लगभग १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको हेल्भेटासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।