बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ भने एक बालकको सकुशल उद्धार गरिएको छ।
मंगलबार दिउँसो पौने ३ बजेको समयमा दाङको दंगीशरण गाउँपालिका- ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दंगीशरण- १ बस्ने नरेश खड्काको ९ वर्षीय छोरा पुस्कर खड्का र कविराम पुनको ९ वर्षीय छोरा तारा पुन डुबेका थिए।
नदीमा डुबेर बेपत्ता भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले र स्थानीयको सहयोगमा तारा पुनलाई सकुशल उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अर्का बेपत्ता भएका पुस्कर खड्का डुबेको स्थानदेखि एक सय मिटर तल साढे ३ बजेको समयमा मृत फेला परेका थिए।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।