सात दिनमा ५ लाख ६ हजार ५२५ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
घटनास्थापना (असोज १७) देखि बुधबार ( २३) सम्म दसैं मनाउन गाउँ फर्किएका हुन्। सोही अवधिमा २ लाख ९० हजार ४३८ जना उपत्यका भित्रिएका छन्।
सोही अवधिमा ७६ हजार ४३९ सवारीसाधन बाहिरिएका छन् भने ५८ हजार ११ सवारीसाधन भित्रिएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।
दुई दिन अघिदेखि भने बाहिरिने संख्या बढिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले जानकारी दिए।
उनका अनुसार सोमबार (२१ गते) १ लाख १८ हजारले छाडेका थिए। मंगलबार ८१ हजारले उपत्यका छोडेका छन्।
अघिल्ला दिनका तुलनामा सोमबारदेखि बाहिरिने सवारी साधनको चाप बढेको छ।
'आज (बुधबार) पनि बाहिरिनेको संख्या बाक्लो छ,' डिएसपी कार्कीले भने, '८/९ लाखले उपत्यका छोड्ने अनुमान गरेका छौं।'
गत वर्षहरूको तुलनमा यसपटक बाहिरिनेको संख्या एकदमै कम छ। जताततै सडकहरू अवरूद्ध भएकाले पनि यसपटक काठमाडौं उपत्यका छोड्नेको संख्या कम भएको उनको भनाइ छ।
बुधबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरू सञ्चालनमा आइसकेको छ। बिपी राजमार्ग पूर्ण रूपमा बन्द छ। बाँकी अन्य राजमार्गहरू सञ्चालनमा आइसकेको उनले बताए।
'कच्ची सडक र वैकल्पिक बाटोहरू प्रयोग गरिएकाले सवारी जामको समस्या भने कतैकतै भइहरेको छ,' उनले भने।
गत वर्षहरूमा १५ देखि १८ लाख मानिसहरूले काठमाडौं उपत्यका छोड्ने गरेका थिए।