काठमाडौं महानगरपालिकाको टोली पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन पुगेको छ।
काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष आशामान संगतसहित नगर प्रहरीको टोली धर्मशालामा खाली गराएर बोर्ड राख्न पुगेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
उनका अनुसार अहिले धर्मशाला काठमाडौं महानगरद्वारा सञ्चालित भनेर बोर्ड राख्ने काम भइरहेको छ।
'अहिले धर्मशालामा महानगरको बोर्ड राख्ने काम भइरहेको छ,' उनले भने, 'बोर्ड राख्दा मारवाडी व्यवसायीहरूले केही अवरोध पुर्याएका छन्।'
मंगलबार (हिजो) महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालन व्यवस्थापन गर्ने सहमति भएको थियो। असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्ले उक्त निर्णय गरेको थियो।
कोषको स्वामित्वमा रहेको घरजग्गामा महानगरपालिकाले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सहमति गरिएको थियो।
गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालय सहितको सेवा सञ्चालन गरिने महानगरले बताएको छ।
यसका लागि वडा नम्बर ८ का अध्यक्ष आशामान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको थियो।