दाङ प्रहरीले हप्ता दिनको अवधिमा चलाएको कारबाहीमा ठूलो परिमाणमा लागु औषध बरामद गरेको छ।
हप्ता दिनको अवधिमा दश ग्राम तीन सय ४० मिलिग्राम ब्राउन सुगर, ११ केजी १८० ग्राम अफिम र ३८ केजी ९७२ ग्राम चरेश बरामद गरेको छ। यो परिमाण असोज १६ देखि २२ गतेसम्मको हो।
प्रतिबन्धित लागुऔषध ओसारपसार तथा व्यापारमा संलग्नहरूमध्ये हप्ता दिनमा १६ पुरूष र २ महिला गरी १८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले हप्ता दिनमा २० जुवाडे पक्राउ गरेको छ। उनीहरूबाट तीन लाख एक हजार १५० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए।
चाडबाड सुरू भएसँगै सुरक्षा योजना सार्वजनिक गरेको र लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरी लागेको उनको भनाइ थियो।
‘दाङ आएपछि चलाएको कारबाहीमा हप्ता दिनमा बरामद भएको लागुऔषधको परिमाणले अझ प्रहरी निकै सक्रियताका साथ काम गर्नुपर्छ भन्ने फिल भएको छ,’ एसपी तिमिल्सिनाले भने, ‘दसैं र तिहार जस्ता पर्वमा ठूलो धन राशी हारजित हुने गरी खेलिने जुवातासलाई निस्तेज पार्न प्रहरी लाग्नेछ।’
मंगलबार मात्रै प्रहरीले दाङको इतिहासमै सबैभन्दा बढी ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित पक्राउ परेका मानिसहरू सार्वजनिक गरेको थियो।
प्रहरीले चरेश र अफिम गरी एकै दिन ५० किलो १५२ ग्राम लागु औषध बरामद गर्न सफल भएको थियो।
सुराकका आधारमा जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाको नेतृत्वमा खटिएको १० जना प्रहरीले मंगलबार दिउँसो २ बजेतिर घोराही उपमहागनरपालिका–१८ मसिनामा पैदल हिँडिरहेका रुकुम पूर्व पूथाउत्तरगंगा गाउँपालिका–४ का ३७ वर्षीय सुबिन्द्र पुन, पूथाउत्तरगंगा–३ का ५१ वर्षीय चेतन बुढालाई खानतलासी गर्दा ठूलो परिमाणमा अफिम फेला परेको थियो।
उनीहरूलाई सोधपुछ गर्दा त्यो अफिम रूकुम पूर्व घर भई घोराही–१८ मसिनामा कोठा भाडामा बस्ने ४२ वर्षीया बिनी पुनबाट खरिद गरी ल्याएको बयान गरेपछि प्रहरी त्यहाँ पनि पुगेको थियो। पुनको कोठाबाट पनि प्रहरीले लागु औषध बरामद गरेको थियो।
मंगलबार नै प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरस्थित शान्ति कर्मकोट सामुदायिक वनमा जुवा खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
रोल्पाको परिवर्तन गाउँपालिका–२ का २८ वर्षीय हिमाल वली, घोराही–१२ का ३३ वर्षीय जिवराज रावत, घोराही–८ का ३७ वर्षीय केशव शाह, घोराही–१३ का ३० वर्षीय सूर्य बोहरा र बंगलाचुली गाउँपालिका–३ का ३० वर्षीय केदार परियार पक्राउ परेका थिए। उनीहरूको साथबाट ७० हजार ११० रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरमा नयाँ डिएसपीका रुपमा आएका अनिल ठकुरीले पनि चाडपर्वमा हुन सक्ने सम्भावित घटना वा दुर्घटना न्यूनिकरणका लागि प्रहरीले सक्रियता बढाएको बताएका छन्।
डिएसपी ठकुरीले मंगलबार मात्रै मोडिफाइ गरिएका र ध्वनी पर्दूशन गर्ने नौ वटा बुलेट बाइकहरू सवारी चेकजाँच क्रममा नियन्त्रणमा लिइएको बताएका थिए। ठकुरी तुलसीपुरमा आएपछि मापसे चेकजाँच तीब्र पारिएको छ भने दर्जनौं त्यस्ता चालक र सवारी कारबाहीमा परेका छन्।