दसैंको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी बिक्री गर्न आएका व्यापारीहरूले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन्।
बुधबार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरूले महानगरका कर्मचारीहरू आएर बाँधेका खसी खोलेर छोडिदिएपछि ३ वटा खसी हराएको गुनासो गरे।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा काभ्रेबाट खसी बिक्री गर्न आएका व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरू फुकाएर केही पर लगेर छोडिदिएपछि खसीहरू हराएको गुनासो गरे।
उनले विपद्को बेलामा दिनरात नभनी हिँडेर ल्याएका खसीहरू हराउँदा दसैं नै खल्लो भएको बताए।
उनले भने, ‘यहाँ खसी बाँधेका थियौं, बाँधेपछि ल ल गइहाल, लैजाओ भन्यो। हामीले लगेनौं। उहाँहरूले आएर सबै डोरी फुत्काएर छोडिदिनुभयो। नगरपालिकाको कर्मचारीहरूले त्यसो गर्नुभयो। ३ वटा खसी हराए। त्यस्तो भयो, अब के गर्न सकिन्छ र? हामी बिहान ४ बजे आइपुगेका हौं। खसी निकालेर बाँधेका थियौं। त्यस्तो गरिदिए।’
अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताए।
उनले गाउँमा अहिले खसी महँगो रहेको तर सहरमा सस्तो रहेको बताए।
उनले सडक अवरूद्ध हुँदा ल्याउन गाह्रो भएको बताए।
उनले अहिले जिउँदो खसीको प्रतिकिलो ६५०/६६० मा बेच्दा पनि नकिनेको गुनासो गरे।
उनले भने, ‘पोहोरको भन्दा अहिलेको स्थितिमा गाउँमा महँगो, यहाँ सस्तो छ। पोहोर ६५०/६६० मा बेचेका थियौं। अहिले त्यत्तिमै दिँदा पनि लैजाँदैनन्। सडक अवरूद्ध हुँदा ल्याउन गाह्रो भयो। भाडा पनि डबल पर्यो। यहाँबाट फर्काएर लगे हामीले खाल्डामै हाल्नुपर्छ। बिक्री त जसरी भए नि सिध्याएर जानुपर्छ। तर घाटा खाएर बेच्नुपर्ने भयो।’
अर्का काभ्रेपलाञ्चोक जिल्लाकै खसी व्यापारी सोनाम मोक्तानले बजारमा भाउ नरहेको बताए।
उनले उपभोक्ताहरू किन्न नआएको गुनासो गरे।
उनले ल्याउँदा तीन दिन हिँडाएर र १५ हजार भाडा तिरर ल्याउनुपरेको बताए।
उनले भने, ‘बजारमा खासै भाउ छैन, पहिलाको जस्तो, बेच्न पाएको छैन। बाढी, पहिरो खसेको छ, सहज छैन, ल्याउन। ३ दिन हिँडाएर ल्यायौँ काभ्रेका महाभारतबाट। लगभग १५ हजार भाडा लाग्यो। बजारको रेटमै बेचेका छौं।’
यता उपभोक्ता मानबहादुर श्रेष्ठ भने गत सालको भन्दा यस वर्ष अझै महँगो भएको गुनासो गर्छन्।
उनले भने, ‘महँगो रहेछ, आवश्यक परेपछि किन्नै पर्यो।’
दसैं अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दसैं उल्लासमय बन्न सकिरहेको छैन। विपद्का कारण सडक आवागमन कतिपय स्थानहरूमा अवरूद्ध हुँदा दसैंका लागि काठमाडौं भित्रिने खसी, बोका, च्याङ्ग्राहरू कम आएको बताइरहेको बेलामा काठमाडौंमा आएका खसीबोका पनि बिक्री नभएको व्यापारीहरूको गुनासो छ। —न्युज एजेन्सी नेपाल