गैरआवासीय नेपाली संघ एनआरएनएले आइतबार र सोमबार काठमाडौंमा एनआरएनए ग्लोबल कन्क्लेभ आयोजना गर्ने भएको छ।
रूपान्तरण र एकताः श्रममा, लगानी, र नागरिकताको निरन्तरता भन्ने मुल नाराका साथ ग्लोबल कन्क्लेभ-२०२४ आयोजना गर्न लागिएको एनआरएनएले बताएको छ।
यही अवसरमा वार्षिक साधारण सभासमेत हुनेछ।
कार्यक्रमको उद्घाटन आइतबार साढे ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। मन्त्रीहरू,सरोकारवाला तथा विज्ञहरूको समेत कार्यक्रममा सहभागिता रहने उल्लेख गरिएको छ।
कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन्। कार्यक्रममा स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा लिइएको छ।
कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुनेछ।
कार्यक्रमको दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश छन्।
'स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेश स्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने विश्वास लिएका छौं,' एनआरएनएका बद्री केसीले भने।
यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको कोष) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे पनि छलफल हुनेछ। जसले गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने तथा दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुर्याउने विश्वास लिइएको छ।