महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा गरेको कामहरू सार्वजनिक गरेको छ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नवलकिशोर साह सुडीले एक सय दिनमा गरेका ४० काम सार्वजनिक गरेका हुन्।
यस मन्त्रालयले असोज १० देखि १२ गतेसम्मको वर्षाले बाढी, पहिरो र डुबानमा परेका बालबालिका तथा महिलाहरूको उद्धारमा खटिएको उल्लेख गरेको छ। ११६५ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ।
ज्यान जोखिममा परेका ४८ गर्भवती र सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरेको उपलब्धिमा उल्लेख छ। २०८२ को असारसम्म सडक बालबालिकामुक्त बनाउने नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ असार ३१ गतेको निर्णय कार्यान्वयन गर्न पहल गरिएको मन्त्रालयले बताएको छ।
१० वटा स्थानीय तहमार्फत ५६ जना सडक बालबालिकाको तथ्यांक आएको छ। त्यसैले राष्ट्रिय बालअधिकार परिषद् मार्फत उद्धार, पुनस्थापना र संरक्षण प्रक्रिया अगाडि बढाएको मन्त्रालयले जनाएको छ।
देशभर हराएका १ हजार ८८४ (बालक ५२५, बालिका १३५९) जनाको खोजतलास गरी त्यसमध्ये फेला परेका १ हजार ५५९ (बालक ४४२ र बालिका १११७) जनालाई परिवारमा पुनर्मिलन गराउन सफल भएको मन्त्रालको दावी छ।
मन्त्रालयले मानब बेचबिखन तथा ओसारपसार पीडित/प्रभावित भएका ७७ महिलालाई स्वदेश फिर्ता र परिवारसँग पुनर्मिलन गराएकोलाई पनि एक सय दिनको काममा राखेको छ।
संघीयस्तरको एक निकाय, प्रादेशिक इकाइहरू तथा बालसुधार गृहहरूको व्यवस्थापन गर्न मन्त्रालयस्तरीय विकास समाधान समितिमा छलफल गर्दै आएको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणको काम यही सय दिनभित्र भएको मन्त्रालयले बताएको छ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरेको छ। मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयारीका लागि समिति गठन गरी मस्यौदा तयार पारिएको छ।
अब छिट्टै करिव ३० करोड लागतमा लैंगिक हिंसा पीडितहरूको आश्रय तथा सेवाको लागि पुनर्स्थापना केन्द्र निर्माण गर्ने कार्य अगाडि बढ्ने मन्त्रालयले बताएको छ।
मन्त्रालयको अनुसार २०८०/८१ र २०८१/०८२ मा उद्धार गरिएका ४०८ सडक बालबालिकाको पालनपोषण, संरक्षण तथा व्यवस्थापन गरिएको छ। बेवारिसे १४० जना बालबालिकामध्ये ९१ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ।
मापदण्ड पुरा गरेका ४२ वटा बालगृहलाई सञ्चालन गर्न अनुमति दिइएको छ। १७ वटा बालगृहको अनुगमन गरी पृष्ठपोषण गरिएको ७ वटा गृह सञ्चालक र कर्मचारीहरूलाई बाल गृह सञ्चालन तथा सम्बन्धी कानून र मापदण्डका बारेमा अभिमूखीकरण गरिएको छ। ३१ जना बालबालिकालाई बालगृहबाट परिवारमा पुनर्मिलन गर्ने लगायतको काम गरेको मन्त्रालयले बताएको छ।