काठमाडौंमा आधुनिक विज्ञान महासम्मेलन र अतिरूद्र विश्वकल्याण विराट महायज्ञ हुने भएको छ।
यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा नेपाल महर्षी वैदिक फाउन्डेसनले कार्यक्रम गर्न लागेको हो।
आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइएको छ।
पूर्वगृहराज्यमन्त्रीसमेत रहेका महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने बताए।
फाउन्डेसनले विगत १२ वर्षदेखि महायज्ञ गर्दै आइरहेको छ। सम्मेलनमा अमेरिकालगायत ७० देशबाट विज्ञ तथा प्रतिनिधिहरू सहभागी रहने आयोजकले जनाएको छ।
साथै सोही अवसरमा आठौं प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत हुनेछ। मेलामा ५० भन्दा बढी अर्गानिक तथा प्राकृतिक उत्पादनहरूका स्टल रहनेछन्।
मेलाका संयोजक शान्ता बास्कोटा कोइरालाले नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारिकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन्।
मेलामा करिब रु ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ। मेला सञ्चालनका लागि महर्षी वैदिक फाउन्डेसनको सहयोग रहेको छ।