महोत्तरीमा आँप बगैंचामा एक महिलाको शव फेला परेको छ।
पिपरा गाउँपालिका-७ दनौलीस्थित चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा पहिचान नखुलेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ३० वर्षीया महिलाको अनुहारको केही भाग जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए।
उनका अनुसार सोमबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
'हल्का पहेँलो रंगको कुर्ता लगाएकी ती महिलाको मुखमा शल बाँधेर आगो लगाइ हत्या गरेको जस्तो देखिन्छ,' डिएसपी जयसवारले भने। महिलाको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।