सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि स्नायुतन्त्र प्यारलाइसिस (पक्षघात) भएर मान्छेको मृत्यु हुन्छ। यसकारण जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ।
सर्पले टोकेको ठाउँमा कसेर बाँध्नुपर्छ भन्ने चलन छ। त्यस्तो गर्दा कतिपय अवस्थामा त्यो ठाउँ काट्नुपर्ने समेत हुन्छ। टोकेको ठाउँनजिक बाँध्यो भने विष फैलन पाउँदैन भन्ने धारणा सत्य होइन।
अर्को कुरा, सर्पले टोकेको ठाउँमा काट्ने र चुस्ने गर्न हुँदैन। खुर्सानी खान दिने, घाउमा जडीबुटी राखिदिने चलन छ। त्यस्तो पनि गर्नु हुँदैन। सकिन्छ भने सबभन्दा पहिला बिरामीलाई घरमा जे साधन छ, त्यसमै राखेर सर्पदंशको उपचार हुने अस्पतालमा लैजानुपर्छ।
सर्पले टोकेपछि मान्छेले गर्ने गल्ती
पहिलो – सर्पले टोकेपछि मान्छेले गर्ने सबैभन्दा ठूलो गल्ती भनेकै बिरामीलाई घरमै राख्ने वा धामीकोमा लगेर उपचार गराउँछु भन्ने हो। यसो गर्दा बिरामीको ज्यान जान सक्छ। सर्पदंशका बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजान जरूरी हुन्छ। अहिले धामी-झाँक्रीकोमा लैजाने क्रम निकै घटेको छ।
दोस्रो – म एम्बुलेन्स बोलाउँछु, गाडी बोलाउँछु भनेर पर्खिने हुन्छ। यसो गर्दा बढी समय लाग्छ। घरमा जे साधन छ, त्यसमा राखेर बिरामीलाई लैजानुपर्छ। मोटरसाइकल छ भने त्यसमै, नभए साइकलमै राखेर पनि दौडाउनुपर्छ।
तेस्रो – सर्पले टोकेको ठाउँमा बाँध्ने गल्ती कहिल्यै गर्नु हुँदैन। बरू सर्पले टोकेको ठाउँ सफा पानीले धुन सकिन्छ।
चौथो – सर्पले टोकेपछि खुर्सानी खानु, टोकेको ठाउँमा केमिकल राख्नु पनि गल्ती हो। टोकेको ठाउँमा चिर्ने र चुस्ने गल्ती पनि गर्नु हुँदैन।
सर्पदंशबाट कसरी जोगिने?
सर्पले कहिल्यै पनि मान्छेलाई टोक्छु भनेर टोक्दैन। जब उसलाई डर लाग्छ, अब मलाई यिनीहरूले चोट पुर्याउने भए या मार्ने भए भन्ने हुन्छ, तब मात्र आत्मरक्षाको लागि डस्ने हो। त्यही भएर सर्पलाई जिस्क्याउनु हुँदैन।
झुल टाँगेर सुत्नुपर्छ। घर वरपर सफा राख्नुपर्छ। दाउरा राखेको ठाउँमा जाँदा सर्प छ कि छैन भनेर हेर्नुपर्छ। राति टर्च बालेर हिँड्नुपर्छ। सकेसम्म लामो लुगा र जुत्ता लगाएर हिँड्नुपर्छ।
सबै सर्प विषालु हुँदैनन्। विषालु सर्पले टोके पनि विष छोड्छ नै भन्ने हुँदैन। आत्मरक्षाका लागि टोक्दा मात्रै विष छोड्ने हो तर बिरामीलाई अस्पताल पुर्याएपछि मात्र सबै थाहा हुन्छ।
नेपालमा सर्पदंशको उपचार सहज हुँदै गएको छ। सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ। कतिपय ठाउँमा सेना र रेडक्रसको सहयोगमा सर्पदंशको उपचार हुन्छ। तराईमा सर्पदंशका उपचार केन्द्र प्रशस्त छन्। तराईमा हुने गोमन र करेतले टोक्दा तत्काल अस्पताल पुर्याउनुपर्छ।
पहाडमा पाइने सर्पले डस्दा तुरून्तै ज्यान जाने हुँदैन तर रगत पातलो भएर रगत बग्ने समस्याले कसैको ज्यान जोखिममा पर्न सक्छ। यसकारण जस्तोसुकै सर्पले टोकेको भए पनि अस्पताल जानुपर्छ।
सर्पदंशका विषयमा जनचेतना जति हुनपर्ने हो त्यति छैन तर बढ्दै गएको छ। सामाजिक सञ्जालको कारणले पनि जनचेतना बढ्दै छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा रोटरी मिड टाउन, काठमाडौंले तराईमा जनचेतना फैलाउने उद्देश्यले पाँच वटा भाषामा कार्यक्रम चलाइरहेको छ।
सर्प भन्नासाथ एउटा क्षेत्रले मात्र काम गरेर हुँदैन। सर्पले टोकेछि डाक्टर र नर्सले उपचार गर्छन्। सर्पदंशबाट जोगाउन जनस्वास्थ्यको क्षेत्रमा काम गर्नेहरूको जरूरत पर्छ। त्यस्तै वन विभागको पनि भूमिका रहन्छ।
अब हामीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगबाट समेत काम गर्ने योजना बनाएका छौं। एआईको सहायतामा कुन जातको सर्पले डसेको भनेर समेत चिन्न सजिलो हुन्छ। अहिले हामी यो प्रयासमा छौं।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा युनिभर्सिटी मिलेर यसका लगि काम गरिरहेका छौं। सबभन्दा पहिला नेपालमा रहेका सर्पको फोटो खिचेर एआई अल्गोरिदम बनाउँछौं। सर्प घरमा गयो या कसैलाई टोक्यो भने त्यसको फोटो खिचेर या जिउँदै समातेर ल्याउने गरिन्छ। त्यस्तो गर्दा उपचारमा थप सहज हुन्छ।
यसो भन्दैमा जोखिम मोलेर फोटो खिच्नु र समात्नु हुँदैन। बिरामीलाई अस्पताल लैजान छोडेर फोटो र भिडिओ खिच्न थाल्नु हुँदैन। पहिला बिरामीलाई अस्पताल लगेर फोटो भिडिओ खिच्दा उपचारमा सहज हुन्छ भनेको मात्र हो। सर्प मारेर अस्पताल लैजाने काम पनि गर्नु हुँदैन। सर्प मार्नु गैरकानुनी काम हो।
(बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर, मुटु, मिर्गौला र सर्पदंश विज्ञ सञ्जीव शर्मासँग सेतोपाटीका सञ्जीव बगालेले कुराकानी गरेका हुन्।)