विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन्।
भगवान सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन्।
तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे।
मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ।
तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए।
त्यस्तै, जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए।
विश्व हिन्दु परिषद् को सक्रियतामा विगत वर्ष झैं यस वर्ष पनि सामूहिक विवाहको कार्यक्रम राखिएको छ। —न्युज एजेन्सी नेपाल