मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरी थमन विकको हत्यामा दोषी ठहर भएका देवेन्द्र चौधरी जेल चलान भएका छन्।
२०७२ भदौ २५ गते महोत्तरीको जलेश्वर नगरपालिका ४ स्थित जिल्ला कमाण्ड सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत असई विकलाई कुटपिट गरी हत्या गरेको मुद्दामा दोषी ठहर भई फरार भएका चौधरीलाई जेल चलान गरिएको प्रहरीले जनाएको छ।
जलेश्वर नगरपालिका-६ बस्ने ५५ वर्षीय चौधरीलाई गत मंसिर २ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा जलेश्वरको रामानन्द विशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको थियो।
उनलाई महोत्तरी जिल्ला अदालतमा दाखिला गरी ४ दिनको निरन्तर सुनवाइ पछि बिहीवार पुर्पक्षका लागि जलेश्वर कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जयसवारले बताए।
असई विकको हत्या मुद्दामा २०८० मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो।