गुड फ्राइडे सिनेमा
हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मन पर्छ भन्ने थाहा हुँदैन। तर रहस्यमयी र थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
अझ कुनै कुनै फिल्म यस्ता हुन्छन्, जसमा एउटाभन्दा धेरै उपकथा हुन्छन्। मुख्य पात्रसँग जोडिएर भाग भागमा आउने कथाहरूले थप रोचक बनाउँछन्।
रहस्यमयी र थ्रिलर विधामा दक्षिण भारतीय फिल्महरू पनि अग्रपंक्तिमा छन्। सामान्य अभिनय, सिनेमाटोग्राफी र कम बजेटमा बनेका भए पनि यो विधाका दक्षिण भारतीय फिल्महरू दमदार कथा पस्किन सफल छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै तेलेगू फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा सहजै हेर्न सकिन्छ।
फिल्म हो अजय भूपतिको निर्देशनमा बनेको 'मंगलबारम्'।
यसको कथा महालक्ष्मीपुरम गाउँबाट सुरू हुन्छ।
यो गाउँका एक बालक र एक बालिकाबीच मिठो मित्रता र प्रेम हुन्छ। तर उनीहरूको आआफ्नो पारिवारिक जीवन कष्टपूर्ण हुन्छ।
उनीहरूको कथाको झल्को पछि फिल्म केही वर्षपछि धकेलिएर सन् १९९६ मा पुग्छ।
एकाएक मंगलबारको दिन महालक्ष्मीपुरम गाउँका बासिन्दाका लागि आतंक बनेर आउँछ। गाउँका एक पुरूष र महिलाको शव इनार छेउमा फेला पर्छ। त्यसअघि उनीहरूले गाउँका भित्तामा आफ्नो सन्देश छाडेका हुन्छन्।
आफूहरूको विवाहेत्तर सम्बन्ध भएकाले आत्महत्या गरेको उनीहरूले सो सन्देशमा लेखेका हुन्छन्।
गाउँमा नवनियुक्त एसआई मायाले यो घटनाको छानबिन सुरू गर्छिन्। उनलाई थाहा हुन्छ, यो गाउँमा सबै थोक ठिकठाक देखिए पनि स्थानीय बासिन्दाबीच धेरै नै द्वन्द्व छ।
मायालाई शंका लाग्छ, के यो आत्महत्या नै हो त?
यो घटनाको छानबिन हुँदै गर्दा अर्का जोडीको उसैगरी, उस्तै सन्देश लेखेर मंगलबारकै दिन मृत्यु हुन्छ।
यसपछि गाउँमा त्रास फैलिन्छ। मायाको शंका अझै धेरै बढ्छ।
उनले यसलाई गहिरिएर अनुसन्धान गर्छिन्। विभिन्न व्यक्तिहरूमाथि निगरानी राख्छिन्।
यही क्रममा उनले यी घटना पछाडिका रहस्य पत्ता लगाउँछिन् जसले उनैलाई चकित खुवाउँछ।
आखिर के कारणले त्यस्तो भइरहेको हुन्छ?
यी मृत्युमा कसैको हात हुन्छ कि आत्महत्या नै हो?
किन विवाहेत्तर सम्बन्ध भएका जोडीकै मृत्यु भइरहेको हुन्छ?
यी सबै जान्न फिल्म 'मंगलबारम्' हेर्नुहोला।
रहस्यमयी र थ्रिलर फिल्म मनपराउनेका लागि यो फिल्म उत्कृष्ट खुराक हो भन्दा फरक पर्दैन। समीक्षक र दर्शक दुवैको राम्रो प्रतिक्रिया पाएको मंगलबारम् कन्नड, मलयालम, तमिल र हिन्दी भाषामा उपलब्ध छ।