नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा १८ घन्टासम्मको लोडसेडिङ अन्त्यका लागि एमालेले भूमिका खेलेको तर जस अर्कैले पाएको बताएका छन्।
शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लोडसेडिङ अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा भूमिका खेलेको बताएका हुन्।
'केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घन्टा लोडसेडिङ हुन्थ्यो,' उनले भने, 'नेपालको जलस्रोतमा देखिएका समस्याहरूलाई समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो।'
त्यही योजनाको परिणामस्वरूप भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर विद्युत आयात गरी नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व एमालेले गरेको पोखरेलले बताए।
'तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कालाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ,' पोखरेलले भने।