सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले शुक्रबार तीन जनालाई पक्राउ गरेको एसपी भाग्येन्द्र पुरूष ढकालले जानकारी दिए।
रौतहट चन्द्रपुर नगरपालिका जुडिवेलाका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी, चितवन भरतपुर उपमहानगर-१२ का ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबर्साइन नगरपालिका-६ फुल्काईका २४ वर्षीय लक्ष्मण यादव पक्राउ परेका हुन्।
उनीहरू तीनै जनाले छुट्टाछुट्टै कसुर गरेको एसपी ढकालले बताए।
अधिकारीको हकमा उनले फेसबुकमा साथी बनाएर कुराकानी गर्नेक्रममा आदानप्रदान भएका गोप्य तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई पठाएर चरित्र हत्या गरेको आरोप छ। महिलाले निवेदन दिएपछि अनुसन्धान गरी कृष्णलाई पक्राउ गरिएको थियो।
त्यस्तै रूपकले पनि प्रेम सम्बन्धमा रहँदा आदानप्रदान भएका तस्बिरहरू ग्रुप च्याटमा सार्वजनिक गरी चरित्र हत्या गरेको आरोप छ।
उनीहरू दुबै जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति पाएको छ।
त्यस्तै प्रकृतिको घटनामा संलग्न भएको आरोपमा लक्ष्मणलाई पनि पक्राउ गरेको हो। समय अभावले उनीमाथि आज म्याद थप हुन सकेन। प्रहरीले तीनै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।