चालु आर्थिक वर्ष (२०८०/०८१) सुरू भएयता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १ हजार ४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताए।
उनकाअनुसार आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ जना पुरूष र १६ जना महिला रहेका छन्।
उनले यही अवधिमा आगलागीका घटनाबाट १ हजार ६ सय ५६ घर परिवार प्रभावित भएको बताए।
आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबराको क्षति भएको सहसचिव पाण्डेले उल्लेख गरे।
सहसचिव पाण्डेले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको बताए।
उनले सोही अवधि आगलागीमा परी १७९ तथा डढेलाबाट २६ जना घाइते भएको बताए।
उनले तीन उक्त तीन महिनाको अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरे।
उनले नेपालमा लाग्ने डढेलो मानवीय हेलचेक्र्याइँ र नियोजित रूपमा लगाउने गरिएको बताए।
उनले आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए।
उनले आगलागीजन्य विपद् न्यूनीकरणकाल लागि स्थानीय प्रशासनहरूलाई आवश्यक निर्देशन दिइएको समेत बताए।
सहसचिव पाण्डेले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको बताए।
जिल्लास्तरमा डढेलो तथा आगलागी नियन्त्रणको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताए।
२०८१ साउन १ गतदेखिको पहिलो ६ महिनामा १ हजार ६५६ परिवार आगलागीबाट प्रभावित भएका छन्। जसमध्ये आंशिक ८८ र पूर्ण क्षति २२८ रहेको छ।—न्युज एजेन्सी नेपाल