मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणका अर्का एक जना बुधबार १ लाख रूपैयाँ धरौटीमा छुटेका छन्।
सहकारी सञ्चालक समितिका पूर्व-सदस्य मनोजकुमार सोनी धरौटी बुझाएर छुटेका हुन्। मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला सहितको नाम सहकारीको रकम अपचलनमा जोडिएको थियो। हालसम्म अदालत उपस्थित भएमध्ये सबैभन्दा धेरै १० लाख रूपैयाँ धरौटीमा कोइराला छुटेकी छन् भने अध्यक्ष शम्भुप्रसाद राजवंशी पुर्पक्षका लागि जेल चलान भएका छन्।
धनपालथान–४ का पूर्व-वडाध्यक्ष रोशन राजवंशी पनि यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सहकारीको बचत रकम र ऋणीको ऋण समेत अपचलन गरेको आरोपमा उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारसहित २६ जना विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंसिर २७ मा मुद्दा दायर गरेको थियो। अध्यक्ष रौनियारसहित हालसम्म अदालतमा हाजिर भएका ९ जना मध्ये ७ जना धरौटीमा छुटेका छन्।
यो सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको थियो।