दाँत नदुखिकन दाँतको डाक्टरलाई भेट्ने हाम्रो चलन छैन। त्यो नै हाम्रो ठूलो गल्ती हो। सामान्यत दाँतका तीन पत्र हुन्छन्। 'इनामेल' बाहिरी पत्र हो ‘डेन्टिन’ दोस्रो पत्र हो भने सबभन्दा भित्री भागलाई 'पल्प' भनिन्छ। 'ब्ल्ड सर्कुलेसन' लगायतका प्रक्रियामा 'पल्प' को भूमिका हुन्छ।
हामीले इनामेल र डेन्टिन खिइँदासम्म वास्ता गरिँदैन। जब पल्पमा असर गर्छ। त्यसपछि अत्यधिक दुख्न थाल्छ। अनि मात्रै हामीले चिकित्सकलाई भेट्छौं।
पहिला पहिला अत्यधिक पीडा हुँदा दाँतलाई निकालेर फालिन्थ्यो। तर अहिले आरसिटी (रूट क्यानल ट्रिटमेन्ट) किन गरिन्छ भने एउटा दाँतको पनि महत्व ठूलो छ। एउटा दाँत राख्न पर्दा पनि खर्च झन् धेरै हुने अरू असर हुने भएकाले आरसिटी गर्नुपर्ने हुन्छ। यदि राम्रोसँग आरसिटी भयो भने त्यो दाँत पहिलाको जस्तै हुन्छ।
आरसिटी भनेको दाँतको नशासम्म पुगेर उपचार गर्नु हो। प्राकृतिक दाँतलाई बचाउन गरिने एउटा भरपर्दो उपचार पनि आरसिटी नै हो।
आरसिटी प्रविधि नेपालमा भित्रिएको २०/२५ वर्ष भएको छ। पहिला/पहिला आरसिटी हाते औजारले खुला मुखमा गरिन्थ्यो। जसले गर्दा संक्रमण हुने सम्भावना हुन्थ्यो। आरसिटी गर्दा राम्रोसँग सफा गर्न सकिएन भने आरसिटी गरेको काम लाग्दैन। आरसिटी गर्ने क्रममा खुला मुखमा गरियो भने पनि आरसिटी असफल हुनसक्छ। आरसिटी गर्ने क्रममा खोक्रो दाँतलाई गरियो भने भोलिका दिनमा त्यो दाँत भाँचिन सक्छ।
एकपटक आरसिटी गरेपछि त्यहाँ कीरा लाग्ने भन्ने हुँदैन। त्यहाँ भाँचिने हुन सक्छ तर कीरा लाग्ने भन्ने हुँदैन।
आरसिटी गर्दै गर्दा पूर्ण रूपमा गर्नुपर्छ। यदि अपुरो आरसिटी गरियो भने त्यसले थप दुःख दिन सक्छ। विज्ञ चिकित्सकबाट आरसिटी गरिएको छ कि छैन र कस्तो खालको प्रविधि प्रयोग गरिएको छ भन्ने आधारमा पनि आरसिटी दिगो हुन्छ कि हुँदैन भनेर निर्धारण हुन्छ।
अर्को कुरा आरसिटीको नयाँ ट्रेन्ड र यसको उपचारमा आएका नयाँ प्रविधिबारे बिरामी पनि अपडेट हुनुपर्छ। सचेत भएर आरसिटी गरियो भने ९९ प्रतिशतसम्म सफल भएको पाइन्छ।
हिजोआज सिंगल भिजिट आरसिटी प्रविधि आएको छ। पहिला आरसिटी गर्न महिनौं लाग्ने हुन्थ्यो। कहिलेकाहीँ साह्रै समस्या रहेछ भने १ हप्तासम्म लाग्न सक्छ। तर धेरै आरसिटी एकैदिनमा सफल हुन्छ। अगाडिको दाँतमा आरसिटी गरिएको छ भने धेरै फरक नपर्ला तर आरसिटी गरेको दाँतलाई क्राउन लगाएर संरक्षण गर्नुपर्छ। त्यस्तै साह्रो खाना खान हुँदैन। पछाडिको दाँतमा आरसिटी गरेर क्राउन राख्न सकिएन भने दाँत भाँचिने खतरा हुन्छ।
(आरसिटी किन गर्नुपर्छ, यसका फाइदा के हुन् अनि कस्ता होसियारी अपनाउनुपर्छ लगायतका विषयमा केन्द्रित रहेर हामीले भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख तथा साइराम डेन्टलका सञ्चालक डा.अजय न्यौपानेसँग भिडिओ कुराकानी गरेका छौं।)