काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज भित्र हाइकिङ जाँदा अलपत्र परेका १० जनाको उद्धार भएको छ।
शनिबार हाइकिङ गएका १० जनाको उद्धार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
प्रहरीलाई अपराह्न ४ बजेतिर १० जना अलपत्र परेको भन्ने खबर आएको थियो। उक्त खबर पछि प्रहरी प्रभाग बुढानिलकण्ठको टोली खटिएको थियो।
नेपाली सेनाको भवानी दल गण लिपिकोट शिवपुरी र जिल्ला वन कार्यालयबाट पनि टोली खटिएको थियो।
उक्त टोलीले राति सवा ८ बजेतिर ६ जनाको उद्धार गरेको थियो। बाँकी चार जनाको हकमा भने आइतबार राति १:४० बजेतिर उद्धार भएको एसपी बोहोराले बताए।
उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको छ। उनीहरू सबै जना सकुशल छन्।
उद्धार गरिएका व्यक्तिहरू १६, १७ र १८ वर्ष समूहका किशोरहरू हुन्।