बाँके प्रहरीले आफै ग्राहक बनेर किन्ने 'डिल' गरी एकै दिन ठूलो परिमाणमा लागुऔषधका कारोबारी समातेको छ।
फागुन १२ गते दिउँसो प्रहरीले भारत उत्तर प्रदेश जिल्ला बहराइच काजिपुरूवाका २१ वर्षीय अलबक्स खाँलाई ७२२ ग्राम ६३ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाको पुरानो इँट्टाभट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी ठूलो परिमाणमा ब्राउन सुगर बोकेर भारतबाट नेपालतर्फ आउँदै थिए।
प्रहरी आफैले किन्ने भनेर खाँलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले सेतोपाटीलाई बताए।
'प्रहरी आफैले खरिदकर्ता बनेर भारू आठ लाखमा किन्ने डिल गरी खाँलाई पक्राउ गरिएको हो,' एसपी कार्कीले भने, 'खाँ लागुऔषध आपूर्तिकर्ता मात्र होइनन्, प्रमुख डिलरमध्येका एक हुन्। उनले पहिलेदेखि नै बाँके लगायत जिल्लाहरूमा लागुऔषध भित्र्याउने गरेको अनुसन्धानबाट खुल्छ।'
खाँबारे थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
सोही दिन दिउँसो प्रहरीले थप दुई जनालाई ४ केजी २२० ग्राम चरेससहित पक्राउ गरेको छ। कालिकोटको खडाचक्र नगरपालिका–१० का ३५ वर्षीय विक्रम शाही र ३५ वर्षकै भक्तबहादुर शाही बाँकेको नेपालगञ्ज–४ बसपार्क जाने सडक खण्डबाट पक्राउ परेका हुन्। पक्राउ परेका उनीहरू नाताले काका-भतिजा हुन्। विक्रम काका हुन् भने भक्तबहादुर भतिजा।
एसपी कार्कीका अनुसार यी दुई जनालाई पनि प्रहरीले सुराकका आधारमा आफै खरिदकर्ता बनेर डिल गरी पक्राउ गर्न सफल भएको थियो।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार विक्रमले चलाएको सु.प.प ०१–०११ प १८५५ नम्बरको स्कुटरको पछाडि सवार भक्तबहादुरले पिठ्युँमा बोकेको झोलाबाट चरेस बरामद भएको थियो।
पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया सुरू भएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए।