कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला भारतबाट पक्राउ परेकी छन्।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कैलालीबाट म्याद थप गर्न लैजाँदा ५० वर्षीया मीना शाही दमाइ फरार भएकी थिइन्। भारतबाट पक्राउ गरी उनलाई सोमबार बिहान कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिए।
मीनामाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको थियो। दोस्रोपटक म्याद थप्न उनलाई आइतबार सरकारी वकिल कार्यालय लगिएको थियो। म्याद थप गरेर निस्किने क्रममा उनी भागेको एसपी विष्टले बताए। उनी १२ दिनअघि पक्राउ परेकी हुन्।
'उनलाई लगेको प्रहरीहरू गफ गरिरहँदा हतकडीसहित भागेकी हुन्,' एसपीले भने, 'उनलाई लगेका प्रहरीलाई निलम्बन गरिएको छ।'
अहिले टिकापुरका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरेको छ।
सरकारी वकिल कार्यालयबाट भागेकी मीनालाई खोजी गर्न जाँदा यही मुद्दामा फरार रहेका अर्का आरोपी पनि पक्राउ परेको एसपी विष्टले बताए। प्रहरीले सोही मुद्दाका प्रतिवादी २८ वर्षीय उदय परियारलाई पक्राउ गरेको हो।
परियार टिकापुर नगरपालिका-१ का हुन्।
'महिलालाई खोज्ने क्रममा परियार पक्राउ परेका हुन्,' उनले भने।
मानवबेचबिखन आरोपमा परियारलाई प्रहरीले खोजिरहेको थियो। तर फेला पर्न सकेका थिएनन्।