सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएको द्विपक्षीय वार्तामा ठोस सहमति हुन सकेन।
आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष लचक देखिएका छन्।
शिक्षक महासंघले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ। बार्ता पछि संचारकर्मीहरुसँग बोल्दै नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा आफूहरु जिम्मेवार भएको बताइन्।
मंगलबार रातिसम्म चलेको वार्तामा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको गरेको छ।
वार्तामा सहभागी एक मन्त्रीका अनुसार शिक्षक महासंघले राखेको माग मन्त्रिपरिषदबाट पास भएमा महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रतिबद्धता जनाएको बताए।
महासंघले आफ्नो सहमतिको न्यूनतम बिन्दु सरकारलाई दिएको र सरकारले निर्णय गरेमा बुधबार बस्ने महासंघको बैठकले आन्दोलनको मोडालिटीबारे निर्णय गर्ने बताइएको छ।
यता वार्ता पछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले द्विपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको र छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताए।
शिक्षक महासंघले चैत २० गतेदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएको छ। २८ दिनदेखि जारी आन्दोलनले सार्वजनिक शिक्षालाई प्रभावित पारेपछि सरकारले माग सम्बोधनमा तदारुकता देखाएको छ। यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषयमा ७ बुँदे प्रस्ताव तयार गरेका थिए।
गए रातिको वार्तामा उपप्रधानमन्त्रि एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। यस्तै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको शिक्षक टोली वार्तामा सहभागी थियो। (न्युज एजेन्सी नेपाल)