विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ।
शुक्रबार बिहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालले जानकारी दिए।
डाइभर्सन बगाएपछि नारायणघाट-बुटवल सडक अवरूद्ध भएको छ। अत्यावश्यकबाहेकका सवारी साधान खोलाको वारपार रोकिएका छन्।
अत्यावश्यक सवारी साधनहरूलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको डिएसपी नेपालले जानकारी दिए।
गत पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त खोलाको पुल भाँचिएको थियो। पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराइएको थियो।
'बाढीले बगाएपछि यथाशीघ्र डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराउन पहल भइरहेको छ,' डिएसपी नेपालले भने।
यसअघि गत चैत ३० गते पनि बाढीले उक्त डाइभर्सन बगाएको थियो।
पुसमा भाँचिएको पुल बनाउने प्रक्रिया अहिलेसम्म सुरू भएको छैन। यसले बर्खामा थप समस्या हुनसक्ने देखिएको छ।