दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका– ८ दुधेनामा डेरामा बस्दै आएका थिए।
जेठ १९ गते साढे ५ बजेतिर विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय १५ वर्षीय यज्ञ वली र गिरीबीच तुलसीपुर – ९ बेलुवामा कुटाकुट भएको थियो।
प्रहरी हिरासतमा रहेका वलीका अनुसार सुरुमा गिरीले उनीमाथि कुटपिट गरेका थिए । त्यसपछि आफूले गिरीलाई दुई मुक्का प्रहार गरेको उनले प्रहरीलाई दिएको बयानमा बताएका छन्।
प्रहरी अनुसन्धानअनुसार कुटाकुटपछि उनीहरु दुबै जना सँगै नजिकैको स्कुलको क्यान्टिनमा गइ पानी पिएका थिए। पानी पिएपछि गिरी एकाएक ढलेका थिए।
मुक्का प्रहार बाट गिरीको टाउकोमा भित्री चोट लागेपछि अचेत भएको हुनसक्ने प्रहरीको आकलन छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा पठाइएको थियो। त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्यही क्रममा बिहीबार बिहान पौने ३ बजेतिर गिरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरू दुबै श्री माध्यमिक विद्यालय दोघरेमा पढ्दै थिए। मृतकले रुकुममै गएर परीक्षा दिएका थिए। फेरि उनी अध्यनका लागि दाङ आए पनि भर्ना भने भइसकेका थिएनन् ।
गिरीलाई कुटपिट गर्ने यज्ञ वली प्रहरी नियन्त्रणमा छन्। वली अहिले कक्षा ९ मा अध्यनरत छन् ।
प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो। भेट हुँदा उनीहरुबीच सोही विषयमा विवाद हुँदै कुटाकुट भएको थियो।