पाल्पा प्रहरीले एक जना हत्या अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ।
हाल माथागढी गाउँपालिका–१ दमार र साविक चिदीपानी गाविस– ७ का ५७ का सन्तबहादुर सार्की १४ वर्षपछि पक्राउ परेका हुन्।
भारतबाट नेपाल आइरहेका उनलाई गोप्य सूचनाका आधारमा प्रहरीले आइतबार दिउँसो रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित बसपार्कबाट पक्राउ गरेको थियो।
सार्की माथि २०६८/०७/११ गते राति साढे ९ बजेतिर स्थानीय १८ वर्षीय नरवीर नेपालीको हत्या गरेको अभियोग छ। नेपाली सार्कीका आफ्नै भतिजा थिए।
नेपालीको हत्यापछि उनी फरार रहँदै आएका थिए। भारतमा विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लका अनुसार हत्याको १४ वर्षपछि अभियुक्त सार्की पक्राउ परेका हुन्।
सार्कीलाई सोमबार जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको छ।
सार्कीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यानसम्बन्धी कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।
सार्कीमाथि आवश्यक अनुसन्धान सुरू भएको प्रहरीले बताएको छ।