ठूली भेरी नदीमा पौडी खेल्ने गएका मध्य जाजरकोटका तीनै जना बालबालिकाको शव फेला परेको छ।
बगेर बेपत्ता मध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिणमा सोमबार बेलुकी ६ बजेतिर फेला परेको जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।
यसअघि नै जाजरकोटको नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परिसकेको थियो।
उनीहरू शुक्रबार दिउँसो बगेर नदीमा बेपत्ता भएका थिए। आशा महेशकी सहोदर दिदी हुन्। महेश बगेपछि उनलाई जोगाउन भन्दै आशा र भगवतीले नदीमा हाम फालेका थि।
शुक्रबार दिउँसो विद्यालयबाट घर फर्किंदै गर्दा नदीमा तीन बालबालिका बगेको भन्ने सूचना पाएपछि रूकुमपश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो। प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस कोट पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
महेशको शव भने बगेको ठाउँदेखि झन्डै ९ सय मिटर दक्षिणमा सोही दिन बेलुकी पख फेला परेको थियो।
उनीहरू रूकुमपश्चिमको आठबिसकोट नगरपालिका– ९ र जाजरकोट जिल्लाको नलगाड नगरपालिका– ८ मा पर्ने मन्मैस्थित ठूली भेरी नदीमा बगेका थिए।
सुरूमा पसेका महेसलाई नदीले बगाएपछि उनलाई जोगाउन भनेर दिदी आशा र भगवती पनि पसेका थिए। तर भाइ जोगाउन पसेकाहरूको पनि मृत्यु भएको थियो।
यो पनि: भाइ बचाउन नदीमा पसेकी दिदी पनि बगेर बेपत्ता