मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित दास इम्पोरियम कपडा पसल सञ्चालकमाथि कुटपिट भएको छ।
बिहीबार दिउँसो ३ बजे हेटौंडा उपमहानगरपालिका-१२ बस्ने विजय सिंह आफ्नो साथीसँग कपडा (सेन्डो) किन्न आएका थिए।
कपडा पसलका सञ्चालक ६५ वर्षीय बिन्दलले कपडा 'ट्राई' गर्न नदिएपछि विजयले उनीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर ठाकुर सापकोटाले जानकारी दिए।
कुटपिटबाट पसल सञ्चालक दासको टाउको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचार भइरहेको छ। अहिले उनको अवस्था सामान्य छ।
पसल सञ्चालकमाथि कुटपिट हुँदै गर्दा विजयले थप ३ जना साथीहरूलाई बोलाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनीहरू पाँचै जनाले कुटपिट गरेका हुन् कि होइन भनेर अनुसन्धान हुनै बाँकी छ।
अहिले विजय पक्राउ परे पनि बाँकी ४ जना फरार रहेको प्रहरी स्रोतले जानकारी दिए।