पर्सामा रहेको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश खुशीप्रसाद थारूमाथि दुर्व्यवहार भएको घटनापछि अदालतका सबै सुरक्षाकर्मी फेरिएका छन्।
शुक्रबार अदालतमा रहेका सबै सुरक्षाकर्मी र सबै न्यायाधीशका सुरक्षाकर्मी फेरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।
‘हिजोको घटनापछि हामीले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने उद्देश्यले पिएसओसहित अदालतका सुरक्षाकर्मी फेरेका छौं,’ उनले भने।
बिहीबार न्यायाधीश थारूमाथि इजलासमा बसिरहँदा तीन जना व्यक्तिले प्रवेश गरी मसी छ्यापेर दुर्व्यवहार गरेका थिए।
घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जना धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका कार्यकर्ता हुन्।
पक्राउ पर्नेमा सिरहाका ४८ वर्षीय गर्भु महतो, सर्लाहीका ४३ वर्षीय पदमबहादुर मगर र प्यूठान घर भइ ललितपुर बस्ने ३८ वर्षीय अविनाश भन्ने किशोर कुवँर छन्। कुवँर पार्टीका केन्द्रीय सदस्य हुन्।
मगर जिल्लाका इन्चार्ज र महतो जिल्ला समिति सम्पर्क सदस्य रहेको खुलेको छ।
उनीहरूमाथि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेका छन्। प्रहरीले उनीहरूमाथि अपमानजनक व्यवहार गर्न नहुने र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद थप गर्न लागेको हो।
नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ गर्ने फैसला गरेको भन्दै उनीहरूले न्यायाधीशमाथि दुर्व्यवहार गरेका थिए।
जेठ १४ गते न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहित ४ जनालाई राजापुर बम बिस्फोट मुद्दामा सफाइ दिएका थिए।