युरोपका विभिन्न देशमा पठाइदिने आश्वासन दिएर लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्तिको वास्तविक नाम रूपक विश्वकर्मा हो। उनी जाजरकोट बारेकोट गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-९ बस्दै आएका थिए।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगिएका पीडितहरू गुनासो गर्न वैदेशिक रोजगार विभाग ताहाचल पुग्छन्। पक्राउ तथा खोजीका लागि विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाउँछ।
केही समयअघिदेखि रूपकविरूद्ध धेरै पीडितहरूले विभाग उजुरी गरेका थिए।
पीडितहरूमध्ये उनले कसैला आफ्नो वास्तविक नाम बताएका थिए भने कसैलाई अर्कै नाम भनेका थिए।
कमै मान्छेलाई मात्रै उनको वास्तविक नाम थाहा थियो। अधिकांशलाई उनी आफ्नो नाम दीपक पाण्डे बताउँथे। उनले दिपककुमार पाण्डेय र अमित केसीको रूपमा आफूलाई चिनाएका थिए।
उनले वैदेशिक रोगजारमा जान खोज्नेलाई आफ्नो कन्सल्टेन्सीको भिजिटिङ कार्ड दिएर आश्वस्त पारेको अनुसन्धानमा देखिएको छ।
अचिभर्स कन्सल्टिङ सर्भिसेसको भिजिटिङ कार्डमा उनले आफ्नो परिचय दिपक पाण्डे राखेका छन्। त्यसमा उनी आफू म्यानेजिङ डाइरेक्टरको पदमा कार्यरत छन्।
त्यस्तै अट्राक्टिभ ट्राभल्स एन्ड टुर्समा म्यानेजिङ डाइरेक्टरको रूपमा चिनाउँदा आफ्नो नाम अमित केसी भन्थे र सोही अनुसारको भिजिटिङ कार्ड प्रयोग गर्थे।
उनले दिपककुमार पाण्डेय नाम राखेर भारतीय आधार कार्ड पनि बनाएका थिए। त्यही आधार कार्डको प्रयोग गरेर बसुन्धरामा उनले कार्यालय राखेका थिए।
यसरी विभिन्न हुलिया भएका व्यक्तिमाथि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको थियो।
अनुसन्धानको क्रममा उनीविरूद्ध १० वटा पक्राउ पुर्जी रहेको पाइएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
९ वटा पक्राउ पुर्जी उनीविरूद्ध वैदेशिक रोजगार विभागबाटै जारी भएको थियो। एउटा त आधार कार्डमा भएको नामविरूद्ध पनि पुर्जी छ।
अर्को पुर्जी भने जिल्ला प्रहरी परिसर काठमाडौंबाट जारी भएको छ। त्यहाँ दुई लाख ७० हजार रुपैयाँ ठगीको कसुर छ।
यता विभागमा भने ८२ लाख ५० हजार ५ सय रुपैयाँ ठगी गरेको गरेको उजुरी छ।
कुल ८५ लाख ५० हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई केही दिन अघि पक्राउ गरेको थियो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले विभागमै पठाएको छ।