राजस्व अनुसन्धान विभागले लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ’ विरूद्ध एक अर्ब भन्दा बढी राजस्व छलीको मुद्दा दायर गरेको छ।
विभागले आइतबार उच्च अदालत पाटनमा उकत कम्पनीविरद्ध कर छलीको मुद्दा दायर गरेको प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्।
यसमा विभागले कम्पनीसहित शेयरधनी एवं सञ्चालकहरूविरूद्ध पनि मुद्दा दायर गरेको छ।
शेयरधनीहरू जीवन ज्ञवाली, सुदीप आचार्य, मनिषप्रसाद आचार्य, मिठु पौडेल, सिइओ गंगाबहादुर थापा र उपकार्यकारी निर्देशक संगम पौडेलविरूद्ध मुद्दा दायर गरेको हो।
पाँच जना सञ्चालकलाई कुल ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ बिगो कायम गरेको छ। सोही रकम बराबरको जरिवाना समेत गरेको छ।
विभागले उनीहरूसँग एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ बिगो मागदाबी गरेको प्रवक्ता श्रेष्ठले बताइन्।
साथै तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजायको मागदाबी पनि विभाले गरेको छ।
उपकार्यकारी निर्देशक पौडेलविरूद्ध भने अरूको भन्दा आधा मात्रै सजाय माग गरेको छ।
काठमाडौंको तीनकुनेमा रहेको नेपाल क्यान मुभ प्रालिले राजस्व छली गरेको भन्ने सूचना विभागले प्राप्त गरेको थियो।
गोप्य सूचनाको आधारमा विभागले कार्यालयमा छापा मारेको थियो। उसको अनलाइन पोर्टलबाट आर्थिक वर्ष अनुरूप ट्रायल ब्यालेन्स प्रिन्ट गरेर ल्याएको थियो।
कम्पनीले राजस्व छली गरेको पुष्टि हुनसक्ने आधार देखेपछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन स्वीकृत गरी महानिर्देशक चण्डीप्रसाद घिमिरेले अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान गर्न अगाडि बढाएको थियो।
उक्त कम्पनी आर्थिक वर्ष २०७६/०७७ देखि सञ्चालनमा आएको थियो। कर छली गर्न पोर्टलको सर्भर अस्ट्रेलियामा राखेर नेपालमा सेवा बिक्री गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै अनुसन्धानको क्रममा ५५.३३ प्रतिशत सेयर स्वामित्व भएका सुदिप आचार्य र १६ प्रतिशत सेयरधनी जीवन ज्ञवालीलाई पटकपटक ताकेता गरेको थियो।
तर उनीहरू फरार भएका थिए।
प्रालिले उनीहरूको एनसिएम पोर्टलको सेवा बिक्रीलाई तोडफोड गरी म्यानुअल तरिकाले बिलिङ गरेर वास्तविक बिक्री कारोबार लुकाएको भन्दै विभागले मुद्दा दायर गरेको हो।
विभागले यस कम्पनीसँग आवद्ध केही भेन्डर र राइडरहरूलाई पनि उपस्थित गराएर कागज गराएको थियो। विभागले अन्य सञ्चालकहरूलाई पनि ताकेता गरेको थियो।
उनीहरू नेपालबाट विदेश भाग्न सक्ने भन्दै विभागले अध्यागमन विभागलाई समेत पत्राचार गरेको थियो।
अनुसन्धानको क्रममा विभागले सिइओ गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य र संगम पौडेलले प्रमाण नष्ट गर्नसक्ने भन्दै पक्राउ गरेको थियो। पछि उनीहरूलाई धरौटी माग गरेपनि तिर्न नसकेपछि थुनामा गएका थिए।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सेवा बिक्री लुकाएको आरोप छ।