अमेरिकामा अग्निनियन्त्रक टोलीमाथि अन्धाधुन्ध गोली चलेको छ।
अमेरिकाको इदाहोको क्यानफिल्ड पहाडमा आइतबार स्थानीय समयअनुसार साढे १ बजे क्यानफिल्ड पहाडको जंगलमा लागेको आगो निभाउन पुगेका टोलीमाथि अज्ञात समूहले गोली चलाएको हो।
अकास्मात गोली चल्दा दुई जना अग्निनियन्त्रकको मृत्यु भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। एक जना गम्भीर घाइते अवस्थामा उपचाररत भइरहेको छ।
जंगलबाट स्नाइपर प्रहार भएको र आक्रमणकारीहरूलाई अझै नियन्त्रणमा लिन नसकिएको त्यहाँको प्रहरीले उद्धृत गरेर सिएनएनले लेखेको छ।
अहिले ठूलो संख्यामा सशस्त्र टोली र एफबिआइको टोली घटनास्थलमा परिचालन गरिएको छ। हेलिकप्टरबाट आक्रमणकारी खोज्ने प्रयत्न भइरहेको छ। तर डढेलोबाट निस्किएको धुवाँले आक्रमणकारीहरूको 'मुभमेन्ट' पहिल्याउन समस्या भइरहको छ।
उनीहरूले सुरक्षाकर्मीतर्फ आक्रमण गरिरहेको र बेलाबेला गोलीको आवाज आइरहेको बिबिसीले जनाएको छ।
गोली चलाउने समूहमा कति जना छन् भन्ने पनि खुलेको छैन। त्यसमा तीन/चार जना स्नाइपर हतियारधारी रहेको आकलन गरिएको छ।
उक्त स्थान हाइकिङका लागि प्रख्यात गन्तव्य भएकाले त्यहाँ रहेका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
आक्रमणकारीहरूले आत्मसमर्पण गर्ने स्थिति नदेखिएकाले आक्रमणकारीविरूद्ध केही दिनको अपरेसन सञ्चालन गर्नुपर्ने परिस्थिति देखिएको कुटेनेई काउन्टीका शेरिफले बताएका छन्।