दुई दिन देखिको अविरल रूपमा भइरहेको भारी वर्षाका कारण धनगढी क्षेत्र जलमग्न भएको छ।
स्थानीय मोहना नदी र सुकिती नालामा आएको बाढीले धनगढी जलमग्न बनेको हो।
बितेको २४ घण्टामा कञ्चनपुरको बेलौरीमा सबभन्दा धेरै २६७ मिलिमिटर, धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर र कालागोठमा (कृष्णपुर) १८७ मिलिमिटर वर्षा भएको छ। यो भनेको अति भारी वर्षा हो।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख उदय घोडासैनीका अनुसार आसपासका बासिन्दालाई सावधानी अपनाउन लगातार सचेत तुल्याउँदै आएको छ। जसले गर्दा मोहना नदी र साना खहरे खोलाहरूमा पनि पानीको बहाब ह्वात्तै बढेको छ।
घोडासैनीका अनुसार २४ घन्टा यताको लगातार वर्षाका कारण शाखा खोलाहरूमा बाढीको बहाब बढ्न गई स्थानीय घरहरूमा पानी पसेको छ। १४० मिलीलिटर सम्मको वर्षालाई ठिकै भन्न सकिने अवस्था भए पनि २०० मिलिलिटर भन्दा धेरै वर्षा भएका कारण त्यसलाई अति भारी वर्षा भन्नुपर्ने उनले बताए।
दिउँसोमा मोहना–१ मालाखेती स्टेसनमा मापन गरिएको पानीको प्रवाहले खतराको संकेत पार गरेको छ। त्यहाँ ३.५७ प्रतिशत पानीको बहाब पुगेको हुँदा स्थानीय नदी तथा खोला तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन भनिएको छ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख घोडासैनीका अनुसार पछिल्लो दुई घन्टायता पहाडी क्षेत्रमा वर्षा कम भएका कारण स्थानीयले राहतको अनुभूति गरेका छन्।
धनगढी, गोदाबरी क्षेत्रमा डुबान बढेको भए पनि विस्तारै पानी पर्न कम भएको हुँदा अब सहज हुने अपेक्षा गरिएको छ। मोहना र पत्थरीया नदीमा आएको बाढीको बहाबले स्थानीयका केही घर डुबानमा परेको तथा सडक खण्ड पनि जलमग्न भएको उनले बताए।
पहाडी क्षेत्रमा ठूलो वर्षा नभएको र तराईका क्षेत्रमा वर्षा भएको हुँदा भित्री शाखा खोलाहरूमा बहाब बढे पनि हालसम्म खतराको स्थिति सृजना भइनसकेको घोडासैनीले बताए।
मोहना र दोदा मछेलीमा आएको बाढीले धनगढी क्षेत्रमा डुबान भएको हो।
धनगढी उपमहानगरपालिका – १ र ८ को सिमाना भएर बग्ने क्याम्पस रोडको सुकिती नालामा ठूलो बाढी आएको छ। त्यो नालामा आएको बाढीले तटबन्ध गरी घडेरी निकालेको क्षेत्र पनि जलमग्न बनेको छ।
माथिबाट विभिन्न प्लाष्टिकजन्य फोहोरहरू नालामा आएको बाढीले बगाएर ल्याएको र त्यसले नाला थुनिन पुग्दा बहाब परिवर्तन भई बस्ती क्षेत्रमा प्रवेश गरेको स्थानीयले बताएका छन्। जसका कारण वडा नं. ८ को शिक्षा नगर क्षेत्र डुबानमा परेको छ।
वडा नं. १ को शिवनगर क्षेत्रको पल्लो पट्टीको भागमा पनि नालामा आएको बाढीले सडकमै पानी जलमग्न भएको छ। स्थानीयका अनुसार बुद्ध चोकदेखि क्याम्पस चोकसम्म पानी जलमग्न छ।
पिएन छात्राबास भित्र पानी पसेको छ भने खोलाको किनारमा बस्ती बसेका कारण वर्षाले ती क्षेत्रका केही घरहरूमा पानी पसेको छ। त्यस्तै, रेडक्रस कञ्चनपुरका कार्यक्रम अधिकृत विनायक पौडेलका अनुसार त्यस क्षेत्रमा महाकाली नदीमा आएको बाढीले भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका तटीय क्षेत्रका केही घरहरू डुबानमा परेका छन्।
त्यस्तै, पुर्नंबास नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका होचा स्थानहरू डुबमनमा परेका छन्। विगत एक घन्टादेखि वर्षा कम भएको छ। जसले गर्दा डुबान घट्दै जाने अपेक्षा गरिएको पौडेलले बताए।
यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि सोमबार दिउँसो विज्ञप्तिमार्फत् लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका कारण बाढी वा डुबान हुन सक्ने विपत्तिको समयमा सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनले सुरक्षा निकाय लगायत सम्पूर्ण मातहतका निकायहरूलाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
-1751271071.jpg)
-1751271071.jpg)
-1751271071.jpg)
-1751271071.jpg)