रूकुम पूर्वमा दुई मोटरसाइकल ठोक्किँदा एक जना चालक गम्भीर घाइते भएका छन्।
बुधबार बिहान ११ बजेतिर सिस्ने गाउँपालिका–५ धौलापहिरामा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।
मध्य पहाडी लोक मार्गमा रा ७ प १२६२ नम्बरको मोटरसाइकल र बा २९ प ४४२७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
रा ७ प १२६२ नम्बरका मोटरसाइकल चालक रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–८ का २७ हेमराज वली गम्भीर घाइते भएका हुन्। उनको टाउकोमा चोट छ।
अर्का मोटरसाइकल चालक भूमे-५ धौलापहिराका २५ वर्षीय कृष्ण खत्री सामान्य घाइते छन्।
दुबै जनाको जिल्ला अस्पताल रूकुमकोटमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।