गए राति रसुवाको भोटेकोशी नदीमा बाढी आयो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाल-चीन नाकास्थित मितेरी पुल बगायो, भन्सार जाँचपासका लागि यार्डमा राखिएका ७/८ वटा गाडीहरू बगायो, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुग्यो।
बाढीपछि ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण सम्पर्कविहीन छन् भने ५५ जनाको उद्धार गरिएको छ भने ७ जनाको शव फेला परेको छ।
समर्कविहीन भएका मानिसहरूको अहिले पनि खोजी कार्य जारी छ।
बाढीले रसुवाका गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १, २, ३, आमाछोदिङ्मो गाउँपालिका १, २, ४, ५, उत्तरगया गाउँपालिका २, ४, ५ र कालिका गाउँपालिका १ प्रभावित भएका छन्।
रसुवागढी नाका क्षेत्रमा गए राति पानी परेको थिएन। तर राति ३ बजेतिर नदीको बहाव एक्कासि बढ्यो र लेदोसहित बाढी आयो।
चीनतर्फ लेन्डे भन्ने बस्ती छ। त्यही बस्तीको नामबाट नामकरण गरिएको लेन्डे नदीबाट बाढी आएको हो। लेन्डे नदी भोटेकोशीमा मिसिन्छ।
बाढी आएको स्थानमा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, नेपाल प्रहरीका डिएसपी हेम शाहीलगायत पनि जाँदैछन्।काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जाने तयारी छ।
मंगलबार बिहान ४ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा एक्कासि आएको बाढीले ठूलो क्षति पुर्याएको हो।
उक्त बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगायो। उक्त पुल बगाएसँगै चीनसँगको सम्पर्क टुटेको छ।
-1751952786.jpeg)
चीनतर्फ देखिएको संरचना र मितेरी पुल बगाएको स्थान।
बाढीले मितेरी पुलभन्दा तल नदी किनारामा रहेका अन्य संरचनामा पनि क्षति पुगेको छ। मंगलबार बिहान करिब ४: ४० बजेतिर नदी किनारमै रहेको चार्जिङ स्टेशनमा पनि क्षति पुग्यो।
-1751952786.jpeg)
रसुवागढी जलविद्युत आयोजनाको क्याम्प।
नाकाबाट करिब डेढ किलोमिटर दूरीमा भन्सार कार्यालय रसुवाको यार्ड थियो। यार्डमा र पारीपट्टी रहेको रसुवागढी हाइड्रोपावरको ड्याममा पनि बाढी पसेको थियो। त्यहाँ रहेका कन्टेनरहरू पनि बगाएको छ। तर क्षतिको यकिन विवरण आइसकेको छैन।

सवारीसाधन रोकिएको भन्सार यार्ड। यही क्षेत्रबाट अधिकांसलाई बेपत्ता बनाएको आशंका गरिएको छ। यहाँ पार्किङमा राखिएका कन्टेनर गाडीहरू पनि बगाएका छन्। यो यार्ड नदी किनारामा बनाइएको थियो। अहिले बाढीले यार्डमुनि कटान गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार १८ जना सम्पर्कबिहीन छन्।
उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। तर अहिलेसम्म फेला पर्न सकेका छैनन्।
उनीहरू सबै जना भन्सार कार्यालयको यार्डबाट नै हराएको भन्ने आशंका छ। सुरक्षा निकायले सम्पर्कविहीन भएका व्यक्तिहरूको पहिचान खुलाइसकेको छ।
जसमध्ये तीन जना प्रहरी अधिकारी छन्। प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा सम्पर्कबिहीन छन्।
‘अहिलेसम्म हराएकाहरू फेला परिसकेका छैनन्। खोजी भइरहेको छ। हराएकामध्ये तीन जना प्रहरी अधिकारीहरू हुन्,’ सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘उहाँहरू बाढी आएपछि उद्धारमा खटिएका थिए।’
उनीहरू कति बेलादेखि सम्पर्कविहीन भए भन्ने यकिन भइसकेको छैन।

रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदार/कर्मचारीहरूको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको हो।
यसबीच उत्तरगया गाउँपालिकास्थित नदीमा एउटा पुरूषको खुट्टा फेला परेको छ। बाँकी शरीर फेला परेको छैन।
बेपत्ता भएकाहरूमध्ये ६ जना चिनियाँ नागरिक भन्सार यार्ड बनाउने काममा थिए। चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।
अन्य ९ जना नेपाली नागरिक पनि बेपत्ता छन्।
बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्। लामा, मोक्तान र तामाङ गाडी चालक हुन्। बाँकी कर्मचारी तथा कामदार रहेका छन्।
भन्सार यार्ड बनाउने काम भइरहेको हुँदा उनीहरू त्यहीँ बसोबास गर्थे। एक्कासी बाढी गएको हुँदा उनीहरू सुतेकै अवस्थामा बाढीले बगाएको हुनसक्ने सहायक प्रजिअ अधिकारीले बताए।
‘उनीहरू त्यहीँ यार्ड बनाउन बसेकाहरू हुन्। कतिपय गाडीका चालक पनि छन्। सायद राति एक्कासि बाढी आउँदा सुतेकै अवस्थामा बगाएको पनि हुनसक्छ,’ उनले भने, ‘अरू यकिन भइसकेको छैन।’
उनले चालकहरू बाढी आएको थाहा पाएपछि गाडी हटाउन जाँदा परेको हो वा होइन भन्नेबारे बुझ्न पर्ने पनि बताए। ‘उनीहरू गाडी हटाउन भनेर जाँदा पनि भएको हो होइन भन्ने बुझ्न पर्ने छ। फोन सम्पर्क भइसकेको छैन,’ उनले भने।
यो पनि: भारी वर्षा नै नभई कसरी आयो भोटेकोशीमा बाढी?