चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (माघ–चैत) मा नेपालको अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार भएको अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यो वृद्धि हुने देखिएको हो।
चालु वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) मा ३.७ प्रतिशतको वृद्धिदर अनुमान गरिएको थियो। दोस्रो त्रैमास (कात्तिकदेखि पुस) मा ४.४ प्रतिशत अनुमान गरिएको थियो। तेस्रो त्रैमासमा ४.८ प्रतिशत पुगेको अनुमान छ।
यो त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक रहने अनुमान गरिएको छ, जसले आर्थिक सुधारको संकेत गर्छ।
यस अवधिमा विशेषगरी निर्माण क्षेत्रमा राम्रो सुधार देखिएको छ। अघिल्ला दुई आर्थिक वर्षमा निर्माण क्षेत्र ऋणात्मक थियो।
अर्थतन्त्र मापन गर्ने १८ क्षेत्रमध्ये, विद्युत उत्पादन तथा वितरणमा १२.५ प्रतिशतले उल्लेखनीय वृद्धि भएको छ। त्यस्तै, निर्माण क्षेत्र ६.९ प्रतिशतले बढेको छ भने खानी तथा खनिज पदार्थ उत्खनन र वित्तीय तथा बीमा क्षेत्र ६.७ प्रतिशतले वृद्धि भएका छन्।
कार्यालयको तथ्यांक अनुसार सूचना तथा सञ्चार क्षेत्र ६.६ प्रतिशत, यातायात तथा भण्डारण ६.३ प्रतिशत र औद्योगिक उत्पादन ६.२ प्रतिशतले विस्तार भएको अनुमान छ।
अर्थतन्त्रमा सबभन्दा बढी योगदान गर्ने कृषि क्षेत्र को वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान छ। यस वर्ष हिउँदे बाली, तरकारी बाली र केही नगदेबालीको उत्पादन बढेको तथ्यांक कार्यालयले जनाएको छ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र, थोक तथा खुद्रा व्यापार ५.६ प्रतिशतले वृद्धि हुने अनुमान छ।
दोस्रो त्रैमास (कात्तिक–पुस) को तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.६ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ।
चालु वर्षकै कात्तिक–पुसको अवधिसँग माघ–चैतको तुलना गर्दा यातायात तथा भण्डारण, वित्तीय तथा बीमा र आवास तथा भोजन क्षेत्रहरू भने ऋणात्मक अवस्थामा पुगेका छन्।
समग्रमा अन्य क्षेत्रको वृद्धि सामान्य रहँदा कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि झिनो देखिएको हो।