अमेरिकी रक्षा विभागले इरानी हमलाबाट कतारस्थित सैन्य अड्डामा सामान्य क्षति पुगेको जनाएको छ।
जुन २३ मा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा हवाई आक्रमण गरेको थियो।
तीमध्ये कतारको अल उदैद एयरबेसमा सामान्य क्षति भएको अमेरिकी रक्षा विभागका प्रवक्ता सीन पार्नेलले बिबिसीसँग बताएका छन्।
उनले त्यस दिनअमेरिकी र कतारको संयुक्त एअर डिफेन्स सिस्टमले कतारबाट गरिएका अधिकांश मिसाइल नष्ट गर्न सफल भएको बताएका छन्।
एउटा ब्यालिस्टिक मिसाइल भने अल उदैद सैन्य अड्डामा खसेको थियो।
उक्त आक्रमणबाट सैन्य अड्डाका उपकरण तथा पूर्वाधारमा सामान्य क्षति पुगेको छ तर कुनै पनि व्यक्ति घाइते भएको छैन,’ उनले भने, ‘अल उदैद एयरबेस अहिले पनि पूर्णरूपमा सञ्चालनमा छ र क़तरको साझेदारीमा क्षेत्रीय सुरक्षा तथा स्थायित्व कायम राख्ने हाम्रो मिसनमा कुनै अवरोध छैन।’
बिबिसी फारसीको फ्याक्ट चेकिङ टोलीले आक्रमणअघि र पछि खिचिएको स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै सैन्य अड्डाको भित्रका ‘एंटीना कोर’ पूर्ण रूपमा ध्वस्त भएको भनेको छ। साथै, वरपरका भवनहरू पनि क्षतिग्रस्त देखिएका उसले बताएको छ।
इसराइल र इरानबीच भएको युद्धमा अमेरिका पनि सामेल भएपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो।
त्यसअघि अमेरिकाले इरानका फर्दो, नतान्ज र इस्फहानजस्ता प्रमुख परमाणु कार्यक्रम क्षेत्रमा आक्रमण गरेको थियो। उसले ती क्षेत्रहरू ध्वस्त भएको दाबी गर्दै आएको छ।
इरानले जबाफी हमला गरेपछि इरान-इसराइल युद्ध १२ औं दिनमा अन्त्य भएको थियो।