थाइल्याण्ड र कम्बोडियाले एक अर्कामाथि हमला गरेका छन्।
सीमा क्षेत्रमा बिहीबार बिहान दुई देशका सेनाबीच गोली हानाहान भएपछि दुवै देशले एक अर्कामाथि हवाई आक्रमण थालेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
दुवै देशले एकले अर्कोलाई हमलाको सुरूवात गरेको आरोप लगाएको छ।
सीमा क्षेत्रमा तनावपछि कम्बोडियाले थाइल्याण्डमा दुइटा रकेटले हमला गरेको बिबिसीले जनाएको छ।
त्यसपछि थाइल्याण्डले एफ-१६ लडाकू विमानले कम्बोडियाको सैन्य अड्डामा बम खसालेको भनेर बिबिसीले जनाएको छ।
रकेट हमलाबाट थाइल्याण्डमा कम्तिमा दुई जना मानिसहरूको मृत्यु भएको भनिएको छ।
तनावपछि सुरिन प्रान्तको काब चोइङ गाउँमा ३० देखि ४० हजार मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। त्यस्तै थाइल्याण्डले सीमाक्षेत्रमा विद्यालय बन्द गरेको छ। थाइल्याण्डले कम्बोडियासँगको सबै सिमाना बन्द गरेको छ।
दुवै देशले एक अर्कासँगको कुटनीतिक सम्बन्ध घटाएको छ।
तनावपछि थाइल्याण्डले कम्बोडियाको सैन्य अखडाहरूमा लक्ष्य गरेर हमला गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सैन्य क्षमताका आधारमा थाइल्याण्ड कम्बोडियाभन्दा तीन गुणा शक्तिशाली रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
थाइल्यान्ड र कम्बोडियाबीचको सिमाविवाद पुरानो हो। दुबैले ८१७ किलोमिटर लामो भूमिसीमा बाँडेका छन्।