बालबालिकाको रोग प्रतिरोधी क्षमता अलि कम हुन्छ। हाम्रो जस्तो विकासोन्मुख देशमा मौसम अनुसारको ब्याक्टेरिया र भाइरसको कारणले आन्द्राको कोषहरूलाई असर गर्छ। त्यसपछि बान्ता हुने, पखाला लाग्ने र कहिलेकाहीँ बच्चाको ज्यानसम्म जाने खतरा हुन्छ।
कुनै पनि बालबालिकालाई २४ घण्टामा ३ चोटि या त्योभन्दा बढी तरल किसिमको दिसा कहिलेकाहीँ रगत मिसिएर अनि कहिलेकाहीँ रगत नमिसिएको दिशा गयो भने त्यसलाई झाडापखाला भनिन्छ।
झाडापखालाको ८० प्रतिशत कारण भाइरस नै हो। तर २० प्रतिशत जति ब्याक्टेरियाको कारणले हुन्छ। झाडापखाला जाडो र गर्मी दुवै मौसममा हुन्छ।
५ वर्षभन्दा मुनिका बालबालिकाको रोगसँग तथा ब्याक्टेरिया र भाइरससँग लड्न सक्ने क्षमता हुने भएकाले कुनै न कुनै माध्यमबाट ब्याक्टेरिया र भाइरसहरू आन्द्रामा प्रवेश गरेपछि समस्या हुन्छ। चाहे दुषित पानीबाट होस्, चाहे अरू सडेगलेका खाना हुन् या अरू कुनै न कुनै माध्यमले त्यसले समग्र आमासयदेखि लिएर आन्द्रामा असर गर्छ। आन्द्रामा असर गरेपछि झाडापखाला हुन्छ।
झाडापखाला लागिसकेपछि हाम्रो समाजमा अहिले पनि के प्रचलन छ भने झाडापखाला लागेको बिरामालई पानी दिन हुँदैन भनिन्छ। यस्ता गलत बुझाइ र भ्रमले कतिपय अवस्थामा बालबालिकाको ज्यान समेत खतरामा पर्न सक्छ।
आन्द्राको संक्रमण भएपछि बान्ता हुन्छ, पखाला लाग्छ। पखाला लागेपछि पानी या तरल पदार्थ दिइएन भने उसको शरीरको पानी खेर जान्छ। पानी धेरै खेर गयो भने जलवियोजन हुने खतरा हुन्छ। मध्यमदेखि कडा खालको जलवियोजन पनि हुन्छ।
झाडापखाला लागिकसेपछि नुन चिनी पानी बनाएर अथवा जीवनजल खुवाउने चलन छ। जति पटक बच्चालाई डाइरिया अथवा जतिपटक बान्ता हुन्छ त्यतिपटक खुवाउनुस् भन्ने हो।
जीवनजल खुवाउँदा जीवन बच्ने अनि नखुवाउँदा जीवन जाने हुनसक्छ। त्यसैले बच्चालाई जतिसक्दो धेरै खुवाउनु पर्छ। झाडापखाला निको हुन ५ देखि ७ दिनसम्म लाग्न सक्छ।
झाडापखालाको लागि जिंक चक्की दिने र जीवनजल मात्र औषधि हो।
झाडापखालाका बिरामीमध्ये ८० प्रतिशतलाई एन्टिबायोटिक जरूरी पर्दैन। तर हामीले सिधै मेडिकलमा गएर एन्टिबायोटिक किन्ने चलन छ भने कतिपय चिकित्सकले यस्तो गर्ने गर्छन्। आउँ, रगतमासी भएको बेलामा मात्र एन्टिबायोटिकको जरूरी पर्छ। ८० प्रतिशत बिरामीलाई एन्टिबायोटिक चाहिँदैन तर ८० प्रतिशत बिरामीले झाडापखाला लाग्दा समेत एन्टिबायोटिक खाइरहेका छन्। अर्थात हामीले उल्टो गरिरहेका छौं।
दिसामा रगत मिसियो भने मात्र एन्टिबायोटिकको जरूरी पर्ने हो। तर यस्ता बिरामी निकै कम हुन्छन्।
झाडापखाला ५ दिनमा निको हुने भएकाले एन्टिबायोटिक दिए पनि, नदिए पनि त्यति समय लाग्छ। कतिपयलाई २/३ दिनमै निको हुन्छ भने कतिलाई ९/१० दिन लाग्छ तर औषतमा ५ दिनमा निको हुन्छ। त्यही भएर यस्तो बेलामा प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने हो, आत्तिएर एन्टिबायोटिक खुवाउने होइन।
झाडापखालालाई धेरै जटिल रूपमा लिन जरूरी छैन। तर यसलाई लापरबाही पनि गर्नु हुँदैन।
बच्चालाई झाडापखाला लागेको बेला अभिभावकले झोलिलो पदार्थ खान नदिएर कतिले ग्लुकोज पानी दिन्छन्। यस्तो गर्नु पनि गलत हो। झाडापखाला लाग्दै गर्दा जुन पदार्थ शरीरबाट जान्छ, त्योसँग मिल्दोझुल्दो पदार्थ जीवनजलमा पाइने भएकाले यो राम्रो हो। तर ग्लुकोजले आन्द्राको पानी सोसेर झन् पखाला लाग्न सक्छ। त्यसैले यस्तो गल्ती गर्नु हुँदैन।
५ वर्ष मुनिका बालबालिकाको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले निमोनिया, झाडापखाला यो उमेर समूहकालाई हुन्छ। उनीहरूको स्वास्थ्यलाई ख्याल राख्ने हो भने हामीले सरसफाइ अनि उनीहरूलाई खुवाउने स्वस्थ खानामा ध्यान दिनुपर्छ। उमालेको अथवा फिल्टर गरेको पानी खुवाउने अनि विभिन्न रोग विरूद्धका खोप समेत लगाउनु पर्छ। त्यस्तै स्कुलमा पनि यसबारे जानकारी गराउनु पर्छ। साबुनपानीले हात धोएर खान पर्ने, उमालेको पानी खान पर्ने सरसफाइमा ध्यान दिन पर्ने लगायतका विषयमा घरपरिवार, समाज र विद्यालयले ध्यान दिन जरूरी छ।
(वरिष्ठ बाल रोग विशेषज्ञ डा.हरि बहादुर खड्का मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत छन्।)