राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको मात्रामा कमी देखिएको छ।
शरीरमा केही परिवर्तन देखिएको भन्दै सोमबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो।
ट्रमा चिकित्सकको टोली उनलाई राखिएको नख्खु कारागार गएर स्वास्थ्य परीक्षण गर्नुका साथै रगतको नमूनासमेत जाँचका लागि पठाइएको थियो। रिपोर्टअनुसार उनको शरीरमा भिटामिन डीको कमी देखिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
‘सभापतिज्यूको रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्रप्रसाद यादवले दिनुभएको जानकारीअनुसार, उहाँको शरीरमा भिटामिन डीको कमी देखिएको छ। रूपन्देही कारागारमा १२६ दिनसम्मभित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको तथा धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ,’ झाले भने।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्रप्रसाद यादव सभापति लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको प्रवक्ता झाले बताए।