पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले इमान्दारीपूर्वक सुधारको प्रयास गर्ने बताएका छन्।
हालै जिल्लामा सरूवा भएर आएका उनले मंगलबार पत्रकारहरूसँग भेटघाट गर्दै प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउने बताए। त्यसका लागि कर्मचारीलाई नैतिक बल प्रदान गर्ने उनको भनाइ छ।
‘राष्ट्रिय परिचपपत्र लिन एक महिनादेखि लाइन बस्नुपर्ने बाध्यता छ, नयाँ नागरिकता र प्रतिलिपी लिन समस्या छ भन्ने गुनासो आएको छ,’ उनले भने, ‘कानूनले तोकेको कार्यविधि पुरा गरेर आएको काममा आलटाल नगर्न निर्देशन दिइसकेको छु। यो वा त्यो बहानामा काम नगर्ने छुट कर्मचारीलाई छैन।’
मालपोत, नापी, यातायात कार्यालयमा पैसा नतिरी जनताको काम नहुने गरेको, कर्मचारी र बिचौलिया छुट्याउन नसक्ने अवस्था रहेकोमा कसरी सुधार गर्नुहुन्छ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सम्बन्धित कार्यालयका प्रमुख जिम्मेवार हुनुपर्ने बताए।
‘जसरी म यो कार्यालयको प्रमुखको जिम्मेवारीमा छु, यहाँको सेवा प्रवाह मेरो जिम्मेवारी हो, त्यसैगरी अन्य कार्यालयका प्रमुखहरू जिम्मेवार हुनुहुन्छ,’ उनले भने, ‘कार्यालय प्रमुखहरूको बैठकमा गलत काम नगर्नुस् भनिसकेको छु।’
कालोबजारी, तस्करी रोक्न, मलखाद्यको समस्या समाधान गर्न सरोकारवालासँग समन्वय गरेर काम गर्ने उनले बताए।
विभिन्न चाडपर्वमा सामुदायिक सदभाव भड्किन नदिन पूर्व तयारी गर्ने, समन्वयतात्मक बैठक बसेर काम अघि बढाउने उनको भनाई छ। यसअघिका प्रजिअ गणेश अर्याललाई गृहमा सरुवा गरेर पाल्पामा कार्यरत सुवेदीलाई पर्सा जिल्ला पठाइएको हो।
अर्यालले जाँदैगर्दा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले असयोग गरेको बताएका थिए। सुवेदीले भने स्थानीय तहका प्रमुखसँग समन्वयत्मक ढंगले काम गर्ने बताएका छन्।
‘मैले बोलाएको बैठकमा उहाँहरू आउनुहुन्छ, उहाँहरूले बोलाउँदा म जान्छु। स्थानीय तहसँग समन्वयत्मक ढंगले काम हुन्छ,’ उनले भने।