चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्थाको आयोजनामा आज बिहान सरसफाइ गरिएको हो।
सरसफाइको क्रममा महाशाखा, विभाग, महानगरपालिकालगायतका संघ संस्थाले सडकको किनारामा अवैधरुपमा सञ्चालन गरेका घरटहरा हटाउने, माटोको ढिस्का हटाउने, झाडी हटाउने, ट्राफिक संकेत राख्ने, बस बिसौनीको व्यवस्थालगायतका कार्य गरेका छन्।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर र हराभरा चक्रपथ क्षेत्र निर्माण गर्नका लागि महाशाखाले विभिन्न संघ संस्थाको सहयोगमा तीन हप्तादेखि चक्रपथ सफाइ अभियान तीव्रताका साथ सञ्चालन गरेको जानकारी दिए। उनले शुरुको समयमा महाराजगञ्जदेखि कलंकीसम्म सरसफाइ गरिने र त्यसपछि काठमाडौँमा भित्री सडकमा सञ्चालन गरिने बताए।
महाशाखाले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी क्षेत्रमा सरसफाइ गर्ने तथा जथाभावी रोकेर यात्रु चढाउने तथा ओराल्ने सवारीसाधनमाथि विशेष निगरानी गर्ने भएको छ। रासस