गत असारमा भएको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी जयरानी थारू महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी थिइन्।
जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण जितेकी थिइन्। जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान बनाइन्।
४ सय मिटर हडर्ल्समा जयरानीले १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।
जयरानीले २०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुदमा एपिएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन्।
राष्ट्रिय कीर्तिमान बनाएको तीन महिनापछि जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै आइतबार ४ सय मिटर हडर्ल्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्।
यस स्पर्धामा एपिएफकी भागीरथी थारूले १ मिनेट ०६.०६ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने, एपिएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डमा उक्त दूरी पार गर्दै कास्य जितिन्।
तीन महिनाको बीचमै आफ्नै रेकर्ड तोडेर स्वर्ण जितेकी जयरानीले आफ्नो इभेन्ट्समा धेरै प्रतिस्पर्धा गर्ने खेलाडी नभएकाले सजिलो भएको बताइन्।
‘मेरो लक्ष्य रेकर्ड ब्रेक गरेर स्वर्ण जित्ने थियो, त्यसमा सफल भएँ,’ २१ वर्षीय जयरानीले स्वर्ण जितेपछि पोखरा रंगशालामा खुसी साटिन्।
राष्ट्रिय खेलकुदमा लगातार सफल भइरहेकी जयरानीको अबको लक्ष्य देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने छ।
यसअघि बर्दियाकै केशरी चौधरीले हडर्ल्समा उत्कृष्ट प्रदर्शन गर्थिन्। तर उनी चार वर्षअघि खेल जीवना त्यागेर वैदेशिक रोजगारीका लागि दुबई गइन्।
केशरी खेल जीवनबाट बाहिरिएपछि जयरानीलाई ‘नयाँ केशरी’ को उपनाम समेत दिन थालिएको छ।
‘दिदी (केशरी) नहुँदा पनि उहाँसँगै कुदेको जस्तो लाग्छ। उहाँ हुँदा मैले जित्न अवसर पाउन सकिन। तर अहिले उहाँको बाटोमा हिँड्दा खुसी लाग्छ,’ उनले भनिन्।
उनले २०७२ सालदेखि एथ्लेटिक्स खेल्न थालेकी हुन्। बर्दियाको मधुवन-२ सुन्दरपुरकी जयरानीले सुरूमा राष्ट्रपति रनिङ शिल्ड खेलिन्। आमाले नखेल भन्थिन् र बुबालाई छोरीलाई खेलाडी बनाउने इच्छा थियो। पछि प्रशिक्षक विश्वराज चौधरी र सुत्रिता चौधरीले जयरानीलाई होस्टलमा राखेर खेल्ने व्यवस्था मिलाइदिएका थिए।
हेर्नुस् भिडिओ: