नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको एथ्लेटिक्स टिममा ३८ जना खेलाडी छन्।
यी खेलाडीलाई नवौं खेलकुदका लागि तयारी भने एथ्लेटिक्सको उर्वर भूमि जुम्लामा गराइएको थियो। तर पोखरामा प्रतियोगिता सुरु हुनुअघि भारीका वर्षाका कारण प्रशिक्षणमा असर गर्यो।
कतिपय खेलाडी सदरमुकामबाट टाढा रहेको आफ्नै घरमा थुनिए। बाढी, पहिरोका कारण यातायात सञ्चालनमा अवरोध भयो।
गत असोज २७ गतेसम्म ११ खेलाडी जुम्लाकै सदरमुकाममै थिए। जसका कारण नेपालगञ्ज फ्लाइटमा पुगेर २८ गतेको उद्घाटनमा पोखरा आउने सम्भावना न्यून हुँदै गयो।
खेलाडी पोखरा आउने सम्भावना कम बन्दै गएपछि एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया चिन्तित भए। ‘जुम्लाबाट यता आउने बेला निकै समस्या भयो, बाढी र पहिरोका कारण गाडीबाट आउने सम्भावना कम हुँदै गएको थियो,’ प्रशिक्षक रोकायले भने।
स्थानीय अधिकारीले नेपालगञ्जको फ्लाइटका लागि पहिलो प्राथमिकतामा बिरामीलाई राखेका थिए। त्यसपछि विद्यार्थी र अनि मात्र खेलाडीलाई पठाउने कुरा भयो।
असोज २७ गतेपछि एकैपटक २९ गते मात्र फ्लाइट हुने भएकाले २७ गते जसरी पनि खेलाडीलाई फ्लाइटकको व्यवस्था गर्नुपर्ने बाध्यतामा थिए, प्रशिक्षक रोकाया।
सुरुमा नगरपालिकाले खेलाडीका लागि चार्टर्ड फ्लाइट व्यवस्था पनि गरिदिएका थिए। तर जहाज बिमारी बोकेर उडेपछि खेलाडी झन् समस्यामा परेका थिए।
त्यसपछि रोकायाले राष्ट्रको गहना खेलाडीलाई प्राथमिकतामा राख्नु पर्छ भनेपछि स्थानीय प्रशासनले खेलाडीलाई प्राथमिकतामा राख्यो। अनि रोकायाले तारा एयरलाइन्सका क्याप्टेनलाई आफ्नो समस्या सुनाउँदै नेपालगञ्जको सट्टा सिधा फ्लाइट पोखरा गराउन अनुरोध गरे। भाग्यवश जहाजका क्याप्टेन रोकायाका छोराका साथी थिए। रोयाकाको पृष्ठभूमि र खेलाडीको समस्या बुझेपछि क्याप्टेन जुम्लाबाट सिधा फ्लाइट पोखरा गर्न राजी भए।
टिम म्यानेजर, रोकाया र ११ खेलाडी गरी कुल १३ जना बोकेर तारा एयरको फ्लाइटबाट असोज २७ गते पोखरा विमानस्थलमा अवतरओ भयो। अनि मात्र रोकायाले चैनको सास फेर्न पाए!
‘यत्रो खेलकुदको कुम्भमेलामा सहभागी हुनु खेलाडीको सपना हुन्छ। उनीहरूले प्रतियोगिताका लागि महिनौं परिश्रम गरेका थिए। खेलाडी आउन नसक्ने स्थिति रहँदा निकै टेन्सन भएको थियो’, उनले भने, ‘स्थानीय प्रशासन र क्याप्टेनलाई अनुरोध गरेपछि हामी सिधा फ्लाइटमा पोखरामा आउन सफल भयौं।’
जुम्लाबाट नेपालगञ्ज आएको फ्लाइटको साधारण भाडा ७ हजार ५ सय रुपैयाँ पर्छ। पोखरा आउँदा ८ हजार रूपैयाँ मात्र परेको रोकायाको भनाइ छ। यो सबै रकम कर्णाली प्रदेश सरकारले बेहोर्ने बचन दिएको रोकायाले बताए। ‘मन्त्रीज्यूले तिमीहरू भाग लिन पायौं, यसमै खुसी छु। पैसाको चिन्ता नगर्नु भन्नु भएको छ,’ उनले भने।
ओलम्पियन रोकाया एभरेस्ट म्याराथन लगातार जितेर कीर्तिमान बनाउने खेलाडीसमेत हुन्। जुम्लामै बसेर उनले पछिल्ला वर्षमा एथ्लेटिक्स खेलाडी उत्पादन गरिरहेका छन्।
पछिल्लो पटक उनको प्रशिक्षणमा हुर्किएका सुनमाया बुढाले अल्ट्रा रेसमा तहल्का मच्चाइरहेकी छिन्। बुढाले यो वर्ष थाइल्यान्डमा स्वर्ण जित्दा, फ्रान्समा दोस्रो भएकी थिइन्।
उनकै प्रशिक्षणमा रहेका दर्जनौं खेलाडी विभागीय टिमहरू आर्मी, पुलिस र एपिएफमा आबद्ध भएका छन्।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा उनकै चेला दुर्गाबहादुर बुढाले ३ हजार मिटर स्टिपल चेजमा स्वर्ण जित्न सफल भए। जारी प्रतियोगितामा कर्णालीका लागि पहिलो स्वर्ण जितेका बुढा भारतीय सेनामा आबद्ध छन्।
हेर्नुहोस् भिडिओ :