अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा परेको करिब दुई वर्षपछि नेपाली क्रिकेटको विवादको समाधान हुने भएको छ।
आईसीसी प्रतिनिधिमण्डलसँगको नेपाली प्रतिनिधिको बैठकपछि नेपाली क्रिकेट विवादले निचोड लिनसक्ने देखिएको हो। आईसीसी प्रतिनिधिसँगको मंगलबारको बैठकमा सरोकारवालाहरू विवादका विषयमा केहि लचिलो बनेका हुन्।
आईसीसीसँगको बैठकपछि राष्ट्रिय खेलकुद परिषद्ले आधिकारिक धारणा राख्दै गरेको पत्रकार सम्मेलनमा सबै पक्ष लचिलो देखिएकाले नेपाली क्रिकेटले नयाँ मोड लिने अपेक्षा गरिएको छ।
आईसीसीले विधान पुनः संशोधन गरेर पाँच सदस्यीय अनुगमन समिति गठन गर्ने भएको छ। अहिलेको निर्वाचित क्यानले विधान पारित गरेपछि यो समिति स्थापित हुनेछ। जसले चार महिना भित्रमा क्यानको जिल्ला निर्वाचनको अनुगमन गर्ने र बैधानिक रुपमा भए–नभएको पत्ता लगाउनेछ।
यो कमिटीमा तीन जना आईसीसीबाट, एक-एक जना सल्लाहकार समिति र क्यानबाट बस्नेछन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले यसअघि जे भए पनि अब सच्चिएर नगए आईसीसीका साथै आफूले पनि कडा कदम चाल्ने बताए।
यस्तै सल्लाकार समितिका संयोजक विनयराज पाण्डेले आइसीसीले उठाएका चासोहरु सम्बोधन गरिएको र अब पनि सहमती अनुसार नगए आईसीसीले कुनै पहल नगर्ने स्पष्ट पारे।
निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्नु आफूहरुको मुख्य योजना रहेको भन्दै सबै बाधा अड्चनलाई पछि पार्दै काम गर्ने बताए।
अनुगमन समितिमा को–को रहने भन्ने तय भइसकेको छैन। यसका साथै अनुगमन समितिको समयतालिका पनि अझै आइसकेको छैन।
स्वतन्त्र निर्वाचन हुन नसकेको र सरकारी हस्तक्षेप भएको कारण जनाउदै आईसीसीले गत वैशाख १२ गत्ते क्यानमाथि निलम्बनको निर्णय गरेको थियो। त्यसयता नेपाली राष्ट्रिय टोलीले आईसीसीकै ब्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेको छ । नेपाली क्रिकेटको नेतृत्व आईसीसीले लिएसँगै घरेलु क्रिकेट भने संकटमा परेको छ।
आईसिसीले क्यानमाथीको निलम्बन फुकुवाको प्रकृया स्वरुप सल्लाहकार समूहको गठन गरी काम अघि बढाएको थियो। जसले तयार पारेको विधानलाई आईसीसी र सल्लाहकार समूहमा भएको सहमती अनुसार क्यानको निर्वाचित समितीको विशेष साधारण सभाले संशोधनसहित पारित गरेको थियो। शंसोधित विधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत मान्यता दिएपछि क्यानको निर्वाचित समितीले शंसोधित बिधानअनुसार जिल्लाको निर्वाचन पनि सम्पन्न गरीसकेको छ।
यद्यपी आइसीसीको अनुरोधमा शंसोधित विधान कार्यान्वयनको प्रकृया हाल रोकिएको छ। आईसीसीले क्यानको निर्वाचित समितीको विशेष साधारण सभाले सल्लाहकार समूहले तयार पारेको विधानलाई हुबहु पारित नगरेको र सो कार्य आईसिसीसँग भएको सहमतीको विरुद्धमा भएको जनाएको थियो।