जिम्बाम्बेमा जारी आइसिसि विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ।
आइतबार हरारेमा भएको फाइनलमा वेष्टइन्डिजलाई ७ विकेटले हराउँदै विश्वकपका लागि छानिएको अफगानिस्तानले उपाधि जितेको हो।
पहिले ब्याटिङ गर्दै वेष्टइन्डिजले दिएको २०५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३ विकेट गुमाएर ४०.४ ओभरमा भेट्टायो।
अफगानिस्तानको सहज जितमा ओपनर मोहम्मद साहजाद र राहमद साहले उत्कृष्ट पारी खेले। ९० रनको साझेदारी गरेका थिए। क्रिश गेलको बलमा आउट हुनुअघि साहजादले ८४ रन बनाए। ९४ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे।
हमत शाहले ५१ रन बनाए। यसैगरी समिउल्लाह शेन्वारी र मोहम्मद नाबिले क्रमस : २० र २७ रन जोडे । बलिंगतर्फ क्रिस गेलले २ तथा किमो पलले १ विकेट लिए।
यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको वेष्टइन्डिजले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०४ रन बनाएको थियो। उसका लागि रब्मन पावेलले ४४, शिमोन हेतमीरले ३८, एवीन लुइसले २७ तथा एशले नर्सले २६ रन बनाए।
अफगानिस्तानका लागि मुजीब उर् रहमानले ४ तथा गुल्बदीन नइबले २ विकेट लिए। १ विकेट रासिद खानले लिए। आजको खेलमा १ विकेट लिएका खान सबैभन्दा कम खेलमा एक दिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट लिने खेलाडी बनेका छन्।
यसअघि समूह चरणको तीन खेलमा हार व्यहोरेको र नेपालमाथि जित हात पारेकै आधारमा सुपर सिक्समा स्थान बनाउन सफल अफगानिस्तान अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेटमा छानिएको छ। उसले सुपर सिक्सका सबै खेल जितेको हो।