दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर फाप डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्।
उनलाई अर्को महिनादेखि सुरु हुने एनपिएलका लागि विराटनगर किंग्सले टोलीमा भित्र्याएको घोषणा गरेको हो। 
४१ वर्षीय प्लेसिस पछिल्लो समय व्यवसायिक क्रिकेटमा व्यस्त छन् भने सन् २०२१ देखि राष्ट्रिय टोलीबाट खेलेका छैनन्। पछिल्लो पटक उनले अमेरिकाको फ्रेञ्चाइज लिग खेलेका थिए।
आइपिएल टोली दिल्ली क्यापिटल्स, चेन्नई सुपरकिंग्स, राइजिङ पुने सुपर जायन्ट र रोयल च्यालेन्जर्स बेंगलुरु गरी चार टोलीबाट उनले १५४ वटा आइपिएल खेल खेलेका छन्। आइपिएलमा उनले ४७ सय रन बनाउँदा ३९ पटक अर्धशतक पूरा गरेका छन्। उनले चेन्नईबाट सन् २०१८ र २०२१ मा उपाधि समेत जितेका छन्।
अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजको फ्रेञ्चाइज क्रिकेट लिग समेत खेलेका प्लेसिसले राष्ट्रिय टोलीबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी-२० खेल खेलेका छन्। दक्षिण अफ्रिकाको कप्तानको भूमिका समेत निर्वाह गरेका उनले टेस्टमा १०, एकदिवसीयमा १२ र टी-२० मा १ शतक प्रहार गरेका छन्।
यसअघि विराटनगरले स्टकल्यान्डको ओपनर ब्याटर जर्ज मुन्से र अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको थियो।
आगामी मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलका लागि विराटनगरको टोलीमा मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना रहेका छन्।