सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ। आइतबार राति कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराउँदै हैदरावादले लगातार जितसहित शीर्ष स्थानमा कायमै छ।
१ सय ३९ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो। उसका लागि काने विलियम्सनले अर्धशतीय पारी खेले।
४४ बल खेलेका विलियम्सनले ४ चौका र १ छक्काहसित ५० रन बनाए। यस्तै सकिब अल हसनले २७, ओपनर ऋद्दीमान शाहले २४ रन जोडे । युसुफ पठान १७ र दीपक हुड्डा ५ रनमा अविजित रहे।
कोलकाताका लागि सुनिल नारिनले २, मिचेल जोन्सन, पियुष चावला र कुलदीप यादवले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो। टोलीका लागि क्रिस लेनले सर्वाधिक ४९ रन बनाए भने कप्तान दिनेश कार्तिकले २९ रन जोडे। नितेश राणाले १८ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
हैदरावादका लागि भुवनेश्वर कुमारले ३, बिली स्टानाले र सकिब अल हसनले समान २ र सिद्धार्थ काउलले १ विकेट लिएका थिए।
शनिबारकै पहिलो रोमाञ्चक खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ।
आइपिएलमा आजको पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स तथा दोस्रो खेल किङ्स ११ पञ्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।